१६ चैत्र २०८०, शुक्रबार
Follow Us

डा. केसीद्वारा शिक्षामन्त्रीको राजीनामा माग

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७५, शुक्रबार १४:४९

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक ल्याउन अवरोध गरेको आरोप लगाएका छन् । उनले पूर्वसहमतिअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले विधेयक संसदमा नलगेको भन्दै नैतिकताका आधारमा पदमा बस्नु उचित नहुने बताए ।

डा. केसीले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै चिकित्सा शिक्षा ऐन बनाउने दायित्व बोकेका शिक्षामन्त्री पोखरेलले विभागीय मन्त्री भएर पनि जनतामुखी नभएर माफियामुखी ऐन ल्याउन लागेको आरोपसमेत लगाए ।

डा. केसीले स्वास्थ्य सेवा प्रदान गर्ने सम्पूर्ण जनशक्तिलाई आयोगअन्तर्गत् नै ल्याउनुपर्ने आफ्नो माग रहेकाले सरकारले आफूसँग गरेको सम्झौताअनुसार नै विधेयक नल्याए बिनाजानकारी १६औं अनशन सुरु गर्न बाध्य हुने बताए ।

यसैबीच, शिक्षामन्त्री पोखरेलले शुक्रबारै राजधानीमा आयोजित एक कार्यक्रममा मौलिक हक कार्यान्वयनसम्बन्धी विधेयक ल्याउनैपर्ने बाध्यताका कारण वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित गर्न नसकिएको जिकिर गरे । मन्त्री पोखरेलले संसदको आगामी अधिवेशनबाट सो विधेयक पारित गर्ने बताए ।