११ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपाभित्र चरम असन्तुष्टि : स्थायी कमिटीको बैठक बोलाउन माग

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७५, शुक्रबार १४:५१

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र असन्तुष्टि बढ्दै गएको छ । सरकारका काम र पार्टी सन्चालनप्रति नेकपाभित्र असन्तुष्टि बढेको हो । यसैक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार राजधानीमा स्थायी कमिटीका सदस्यहरुको भेला नै बोलाएर तत्काल स्थायी कमिटीको बैठक बोलाउन माग गरेका छन् ।

उनले सरकारले गरिरहेको कामको समीक्षा र पार्टी एकीकरण प्रक्रियालाई कार्यकर्ताको भावनाअनुसार अघि बढाउने विषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाउन माग गरेका हुन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विदेश भ्रमणका गएका बेला वरिष्ठ नेता नेपालले स्थायी कमिटीका सदस्यहरुलाई बोलाएर सरकारले गरेका कामको आलोचनासमेत गरे ।

काठमाडौंको एक होटलमा गरिएको सो भेलामा स्थायी कमिटीका सदस्यहरुले पनि सरकार र पार्टी सन्चालनप्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । वरिष्ठ नेता नेपालले चियापानका लागि भन्दै नेकपाका स्थायी कमिटीका सदस्यहरुलाई बोलाएर सरकार र पार्टी सन्चालन प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । भेलामा सहभागी नेकपाका नेता योगेश भट्टराई र घनश्याम भुसालले समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

उनीहरुले वरिष्ठ नेता नेपालले सरकार सन्चालन र पार्टी एकीकरणको अवस्थाकाबारेमा राय–सुझावसमेत माग गरेको जानकारी दिए । त्यसक्रममा स्थायी कमिटीका सदस्यहरुले कार्यकर्ताको भावनाअनुसार पार्टीका तल्लो तहका कमिटीहरुको एकीकरण गर्न, पार्टीमा पुर्‍याएको योगदानको कदर गर्नलगायतका सुझाव दिए ।

नेकपाका अध्यक्षहरू ओली र दाहाल देशबाहिर भएका बेला नेता नेपालले डाकेको भेलालाई अर्थपूर्णरूपमा हेरिएको छ । दुवै अध्यक्षबाहिर गए पनि कसैलाई कार्यवाहक जिम्मेवारी दिइएको छैन ।