१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ए डिभिजन लिग शनिबारदेखि

नेपालब्रिटेन संवाददाता
१२ आश्विन २०७५, शुक्रबार १४:५६

काठमाडौं । चार वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । चार वर्षपछि आयोजना हुन लागेको ‘ए’ डिभिजन लिगमा १४ टोलीको सहभागिता रहेको छ । लामो सयमदेखि लिग हुन नसकेपछि यस वर्ष एन्फाले रेलिगेशन बिनाको लिग गर्दैछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का लिग कमिटीले आज पत्रकार सम्मेलन गरी लिगको तयारी पूरा भएको जनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जीव मिश्रले लिग कमिटी र एन्फाका तर्फबाट लिगको तयारी पूरा भएको बताउनुभयो ।

सबै क्लबको दाबी लिगमा राम्रो नतिजा ल्याउँछौँ
पत्रकार सम्मेलनमा लिगमा सहभागी १४ वटै क्लबका प्रशिक्षकहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा उहाँहरुले लिगको उपाधिमा आ–आफ्नै क्लबको दाबेदारी प्रस्तुत गर्नुभयो ।

शुरुमा बोल्नुभएका न्यूरोड टोली एनआरटीका प्रशिक्षक महेश्वर मुल्मीले ‘ए’ डिभिजन लिगलाई आफूहरुले राम्रो सदुपयोग गर्ने बताउनुभयो । तयारीका लागि खेल मैदान तथा गोल पोस्टको अभाव भएको बताउँदै लिग तालिकामा पाचौँ या छैटौँ स्थानमा रहने उल्लेख गरेका थिए ।

नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले लिग जित्ने लक्ष्यका साथ तयारी गरिएको बताउनुभयो । ब्रिगेड ब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले लिगमा नयाँ खेलाडीकै भरमा रहेको बताउनुभयो । तालिकाको आठौँ स्थानमा रहने लक्ष्य रहेको बताउँदै उहाँले विगतको लिगमा भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको बताउनुभयो ।

नेपाल पुलिस क्लबमा राम्रा खेलाडीहरुको बाहुल्यता रहेकाले लिग जित्नेमा विश्वस्त रहेको उहाँको दाबी थियो । फ्रेन्ड्स क्लबका प्रशिक्षक रमेश महर्जनले मैदान अभावका कारण प्रशिक्षण राम्रो हुन नसकेको बताउँदै क्लबमा धेरै यू–१८ का खेलाडी रहेको बताउनुभयो । उहाँले रक्षापङ्क्ति बलियो रहेकाले तालिकाको छदेखि आठौँ स्थानसम्म रहने विश्वास व्यक्त गर्नुभयो ।

जावलाखेल युथ क्लबका प्रशिक्षक राजकुमार घिसिङले छदेखि नवौँ स्थानमा रहने विश्वास व्यक्त गर्नुभयो । लिगका लागि राम्रो तयारी गरेको उहाँको भनाइ छ । त्रिभुवन आर्मीका प्रशिक्षक मेघराज केसीले यस पटकको लिगमा आफ्ना खेलाडी पूर्णरुपमा फिट रहेको र जितका साथ प्रतियोगिता शुरु गर्ने लक्ष्यमा रहेको बताउनभयो । “यस पटकको लिगको उपाधिका लागि नै हामी मैदानमा उत्रने छाँै”, उहाँले भन्नुभयो ।

मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक तोग्बे पूजाले उपाधि रक्षा गर्नु नै आफूहरुको लक्ष्य रहेको बताउनुभयो । रेलिगेसन नहुने लिगमा १४ ‘ए’ डिभिजन क्लबले खेल्नेछन् । राउण्ड रोविन लिगका आधारमा हुने लिगको विजेताले रु ५० लाख पाउनेछन् ।

यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । लिगको उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउने जनाएको छ । लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टोलीले एक लाख पाउनेछन् । प्रत्येक खेल जितेबापत (एन्फा)ले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई १० हजार दिनेछन् ।

शहीद स्मारक लिगको इतिहास झण्डै ८५ वर्ष पुरानो छ । विसं १९९० को भूकम्पपछि ‘रामजानकी ट्रफी’को नामबाट शुरु भएको उक्त ट्रफी २००७ सालयता नेपाल पुलिसले लगातार तीन पटक जित्दै इतिहास बनाएको छ । पुलिसले सो ट्रफी पछि तत्कालीन फुटबल सङ्घलाई दिएको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जीवन आहुति दिएका सम्पूर्ण शहीदको सम्झनामा प्रतियोगितालाई ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग ट्रफी’ नामकरण गरिएको हो । उक्त ट्रफी अहिले लिगको विजेतालाई प्रदान गरिँदै आएको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको स्थापना २०११ सालमा नरशम्शेर जबराले गरेको इतिहास छ । उक्त ट्रफी हालसम्म १४ क्लबले जितिसकेका छन् । ट्रफी जित्ने केही क्लब अहिले अस्तित्वमा छैनन् । उक्त उपाधि हालसम्म मनाङ मस्याङ्दी क्लबले सबैभन्दा बढी (विसं २०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) सात पटक जितेको छ ।

यस्तै रानीपोखरी कर्नर टोली ‘आरसिटी’ले (२०२८, २०२९, २०३०, २०३६, २०३८ र २०४१) ६, नेपाल पुलिस क्लबले (२०१२, २०१३, २०६३, २०६६ र २०६८० पाँच, थ्री स्टार क्लबले (२०५४, २०५५, २०६१, २०६९ र २०७१) पाँच, महावीर क्लबले (२०११, २०२३ र २०२६) तीन, सङ्कटा क्लबले (२०३७, २०४० र २०४२) तीन, अन्नपूर्ण फुटबल क्लबले (२०३४ र २०३९) दुई, देउराली क्लबले (२०२५ र २०२७) दुई तथा त्रिभुवन आर्मी, विद्या व्यायाम, फ्रेण्ड्स क्लब, ब्वाइज युनियन क्लब र सुनाखरी एथलेटिक्स क्लबले एक÷एक पटक उपाधि जितेका छन् । विसं २०७१ यता शहीद स्मारक ‘ए’ डिभिजन लिग हुन सकेको छैन ।

लिगको प्रत्यक्ष प्रसारण एपी–१ बाट
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल एपी वान टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ब्रोडकास्टिङ पार्टनरका रुपमा आज एपी–१ एचडी टेलिभिजनसँग सम्झौता गरेको छ । (एन्फा)ले डिजिटल पार्टनर र अनलाइन लाइभका लागि भने माइकुजुसँग यसअघि नै सम्झौता गरिसकेको छ ।

एन्फाले तीन वर्षका लागि एपी–१ सँग सम्झौता गरेको हो । सम्झौतासँगै ‘ए’ डिभिजन लिगका ९१ वटै खेल एपी–१ टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । प्रत्यक्ष प्रसारण गरेबापत एपी–१ यस वर्ष एन्फालाई रु ३० लाख, अर्को वर्ष रु ३५ लाख र तेस्रो वर्ष रु ४० लाख उपलब्ध गराउने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

नेपालले बोलिभियालाई हरायोे
जर्जियामा जारी ४३औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले चौथो चरणको खेलमा आज बोलिभियालाई २.५–१.५ ले हराएको छ । चौथो चरणमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बोलिभियाका लुअग्विलरलाई र विवेक थिङले डानियल पिन्टोलाई पराजित गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । पाँचौँ चरणमा नेपाली टोलीले शनिबार चाइनिज ताइपेईसँग खेल्नेछ । यसैगरी महिलातर्फ चौथो चरणमा नेपाल बेल्जियमसँग ३–१ ले पराजित भयो ।