११ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपाभित्रको विवाद छताछुल्ल, नेपाल पक्षले दुई अध्यक्षको निर्णय नमान्ने

नेपालब्रिटेन संवाददाता
१३ आश्विन २०७५, शनिबार १४:५३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक असन्तुष्टि एकपछि अर्को गर्दै बाहिर आउन थालेको छ । पार्टीको सांगठनिक एकताप्रति असन्तुष्टि राख्दै आएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले हिजो शुक्रबार स्थायी कमिटी सदस्यहरुको छुट्टै भेला गरी पार्टीका दुई अध्यक्षको एकलौटी निर्णय नमान्ने अडान राखेपछि आन्तरिक विवाद सतहमै छताछुल्ल भएको हो ।

दुई पार्टी एकीकरण हुँदा अध्यक्ष केपी शर्मा ओलीसँगै रहेका वरिष्ठ नेता नेपाल पछिल्लो समय ओलीप्रति असन्तुष्ट छन् । पछिल्लो समय पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले सांगठनिक एकतामा एकलौटी गरेको भन्दै नेपाल चिढिएका छन् । असोज ५ गते आफ्नो उपस्थितिबिना नै सचिवालय बैठकले प्रदेश इन्चार्ज र पदाधिकारी चयन गरेपछि उनी नेतृत्वसँग थप रुस्ट भएका हुन् ।

नेता नेपालले अध्यक्षद्वयले एकलौटी गरेको निर्णयलाई नमान्ने सार्वजनिक गरिसकेका छन् । नेता नेपालमात्र नभइ पछिल्लोपटकको सचिवालय निर्णयप्रति पार्टीका अन्य प्रभावशाली नेताहरुसमेत असन्तुष्ट छन् । त्यसो त नेता नेपाल दुई अध्यक्ष विदेश रहेका बेला आफूलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी नदिएको भन्दै थप रुस्ट देखिएका छन् ।

गत बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारको तीव्र आलोचना गरेको भोलिपल्ट नेता नेपालले स्थायी कमिटीका सदस्यहरुको भेला डाके । भेलामा उनले नेतृत्वले एकलौटीरुपले गरेको निर्णय आफूलाई मान्य नहुने भन्दै आगामी रणनीतिका लागि सुझाव मागे । भेलामा सहभागी स्थायी कमिटी सदस्य योगेश भट्टराईले स्थायी कमिटी सदस्यहरुले पार्टीको सांगठनिक एकता न्यायपूर्ण तवरले हुनुपर्नेमा जोड दिएको जानकारी दिए ।

वरिष्ठ नेता नेपालनिकट स्थायी कमिटी सदस्य रघुजी पन्तले समस्या समाधानका लागि तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने प्रतिक्रिया दिए । वरिष्ठ नेता नेपालको पछिल्ला गतिविधि पार्टीभित्र रहेका असन्तुष्ट पक्षलाई समेटेर अध्यक्षद्वयको पार्टीमा रहेको प्रभाव कम गर्ने रणनीतिकारुपमा पनि लिइएको छ । शुक्रबारको भेलाले नेकपाभित्र रहेको असन्तुष्टिलाई औपचारिकरुपमै सार्वजनिक गरेको छ ।