१४ बैशाख २०८१, शुक्रबार
Follow Us

११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७५, शनिबार २०:१९


चिरन शर्मा ।
लन्डन । ११ बुँदे अल्डरशट घोषणापत्र जारी गर्दै एनआरएन युकेको काउन्सिल बैठक सम्पन्न भयो । अल्डरशटस्थित एम्पायर हलमा शनिवार सम्पन्न बैठकमा सयभन्दा बढी संघसंस्थाको सहभागिता थियो । घोषणापत्रमा गैरआवासीय नेपाली नागरिकता, संस्थाको विधान, भूपू गोर्खाको समान हक र अधिकार, बेलायतमा नेपाल घर, संघद्वारा सञ्चालित परोपकारी योजना, युवा, महिला तथा जेष्ठ नागरिक, बेलायतमा जनगणना, सिप तथा स्किल ट्रान्स्फरलगायतका विषय समेटिएको छ ।

यसअघि बैठकको बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्तलगायतले संयुक्त रुपमा उद्घाटन गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पन्तले गैरआवासीय नेपालीको नागरिकता अब कसैले खोस्न नसक्ने भन्दै बेलायतमा रहेका भूपूगोर्खाको नागरिकताको ग्यारेन्टी अब संघले लिने बताए । उनले एनआरएन अब मेघा प्रोजेक्ट जतिसक्दो छिटो सम्पन्न गरेर नयाँ प्रतिबद्धतासहित अगाडि बढ्ने बताए । उनले लाप्राक बस्ती जतिसक्दो छिटो सम्पन्न गर्ने उद्देश्यले संघ घनिभूत रुपमा जुटेको जानकारी दिए ।

संघको केन्द्रीय कार्यालयमा ५५ जनाले दैनिक काम गरिरहेको जानकारी दिँदै अक्टोबर महिनाभित्रै संघको कार्यालय आफ्नै भवनमा सर्ने बताए । उनले सिप, ज्ञान र धन नेपालमा लगानी गरेर देशमा युवा बेरोजगारको अन्त्य गर्नेतर्फ संघ लागेको उपाध्यक्ष पन्तको भनाइ थियो ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.सुवेदीले गैरआवासीय नेपाली संघ यूकेले अग्रगामी काम गरेकाले बताए । उनले बेलायतमा नेपालीबीच एकता र सहकार्य गर्दै एनआरएन यूके रचनात्मक र सकरात्मक रुपमा अगाडी बढाएको भन्दै संघप्रति अभार व्यक्त गरे । उनले नेपाली दूतावास नेपाली समुदायबीच सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न बैठकमा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै चन्द्रबहादुर गुरुङ, एनआरएन युरोप महिला संयोजक संगीता मरहठ्ठा, आइसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएन युकेका पूर्वअध्यक्ष डमर घले, केन्द्रीय उपाध्यक्ष कुल आचार्यलगायतले शुभकामना मन्तव्य दिए ।

कार्यक्रममा एनआरएनए केन्द्रिय सल्लाहकार डा. हेमराज शर्मा, एनआरएन पूर्वसल्लाहकार विश्व पण्डित,आइसीसी सदस्य रामशरण सिमखडा, थर्क सेन, नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरनजीबी ढकाल, एनआरएन युकेका सल्लाहकार भक्त गुरुगं, लगायतको उपस्थिती थियो ।

बैठकमा कोषाध्यक्ष सचिन श्रेष्ठले आर्थिक प्रतिवेदन तथा अध्यक्ष फगामीले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गरेका थिए । संस्थाका महासचिव राजकुमार त्रिपाठी रोहित गुरुगं, र विनय अधिकारी ले सञ्चालन गरेको कार्यक्रममा काउन्सिल बैठक संयोजक तथा उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य दिइन् ।

अल्डरसट घोषणापत्र पूर्णपाठ

गैरआवासीय नेपाली सँघ युके पाँचौँ काउन्सिल बैठक २०१८

घोषणापत्र अल्डरसट, बेलायत

गैरआवासीय नेपाली सँघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ राष्ट्रिय परिषदको बैठक आज मिति सेप्टेम्बर २९, २०१८ शनिबारका दिन अल्डरसट, बेलायतमा बस्यो । बेलायतमा रहेका करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिका पदाधिकारी र सदस्यहरु लगायतको उपस्थितिमा भएको सो बैठकमा विभिन्न विषयहरुमा गम्भीर छलफल गरी गहन सुझावहरु प्रस्तुत भयो । यसरी प्राप्त सुझावहरुलाई आधार बनाइ यो काउन्सिल बैठक अल्डरसट घोषणा पत्र २०१८ जारी गर्दछ ।

१. ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलभावना अनुसार एनआरएनए युकेले नेपाल सरकारलाई हालै बुझाएको ज्ञापनपत्रलाई आधार बनाइ गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चितता गरिदिन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । गोरखाहरुको अवस्था फरक भएको हुँदा उनीहरुको नागरिकताको सवाललाई फरक ढंगले सम्बोधन गर्न पनि यो बैठक सरकारसमक्ष माग गर्दछ ।

२. गोरखाको समस्या गोरखाहरुको मात्र नभई राष्ट्रिय महत्वको सवाल भएकाले यथाशीघ्र समाधानका लागि नेपाल सरकार र बेलायत सरकारलाई सशक्त पहल गर्न यो बैठक माग गर्दछ । गोरखाहरुको सवालप्रति ऐक्यवद्धता र गोरखाको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनवद्धता यो बैठक व्यक्त गर्दछ । गोरखाहरुले वंशजका आधार प्राप्त गरेको नेपाली नागरिकता निरन्तर कायम रहनुपर्ने र उनीहरुका सन्ततिहरुले पनि सो अधिकार पाउनुपर्ने माग नेपाल सरकारसमक्ष गर्दछ ।

३. नेपालमा लगानीको सम्भावनाका बारेमा छलफल गर्न विभिन्न कार्यशाला आयोजना गर्न यो बैठक एनआरएन युकेलाई सुझाव दिन्छ । साथै, नेपाल सरकारको ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ राष्ट्रिय अभियानलाई गैरआवासीय नेपालीका तर्फबाट सहयोग गर्न एनआरएनए युके ‘एक एनसिसी एक परियोजना’को अवधारणा गैरआवासीय नेपालीहरुसमक्ष प्रस्तुत गर्दछ ।

४. विदेशमा आर्जन गरेका सीपलाई नेपालमा स्थानान्तरण गर्नका लागि विदेशमा कार्यरत दक्ष जनशक्तिलाई नेपाल फर्काउने कार्यक्रम ल्याउन यो बैठक नेपाल सरकारसमक्ष माग गर्दछ । त्यस्तो कार्यक्रम ल्याउन नेपाल सरकारलाई दबाब दिन र युकेमा रहेका दक्ष जनशक्तिको तथ्यांक संकलन गर्न बैठक एनआरएनए युकेलाई सुझाव दिन्छ ।

५. सन् २०२१ मा बेलायतमा हुन गइरहेको राष्ट्रिय जनगणनामा प्रयोग गरिने विवरणमा नेपाली समुदायका लागि ‘नेपाली महल’ राखिदिन माग गर्दै बेलायती प्रधानमन्त्रीलाई पत्र लेख्ने निर्णय यो बैठक गर्दछ । साथै, बेलायतमा संचालनमा रहेको युनिभर्सल क्रेडिट योजनाका बारेमा नेपाली समुदायलाई जानकारी दिलाउन सचेतनामूलक कार्यक्रम ल्याउन यो बैठक एनआरएनए युकेलाई अनुरोध गर्दछ ।

६. बेलायतमा नेपालीहरुको नेपालीपन झल्कने साझा घरको अपरिहार्यता बैठकमा एकमतले महसुस गरियो । नेपाल हाउस बिज्नेस मोडलमा निर्माण गर्ने विगतको काउन्सिल बैठकको निर्णयलाई निरन्तरता दिँदै नेपाल हाउस परियोजनालाई थप बृहत स्तरमा अगाडि बढाउन यो बैठक एनआरएन युकेलाई आग्रह गर्दछ ।

७. युकेबाट च्यारिटीमार्फत नेपालमा भइरहेको सहयोगलाई अझै सशक्त बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ । युकेमा रहेका व्यक्ति तथा संघ संस्थालाई एनआरएनए युकेमार्फत च्यारिटी कार्यक्रम संचालन गर्न वा त्यसो हुन नसकेमा गरिएको च्यारिटी कार्यको विवरण एनआरएन युकेमा उपलब्ध गराउन यो बैठक युकेमा कार्यरत सबै व्यक्ति तथा संघसंस्थालाई हार्दिक अनुरोध गर्दछ ।

८. युकेमा बसोबासरत नेपाली युवाहरुलाई एनआरएनएप्रति आकर्षण जगाउन, उनीहरुले सिकेका सीपलाई नेपालमा स्थानान्तरण गर्न र उनीहरुको सर्वाङ्गीण विकासका लागि एनआरएनए युकेको युवा विभागलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता यो बैठक व्यक्त गर्दछ ।

९. नेपालमा महिला तथा बालबालिकाहरुमाथि भइरहेको हिंसाप्रति यो बैठक गम्भीर चिन्ता व्यक्त गर्दछ । त्यस्ता घटनाहरुको छानविन गरी दोषीमाथि कडा कारबाही गर्न बैठक माग गर्दछ । बेलायतमा बसोबासरत महिला, बालबालिका र ज्येष्ठ नागरिकहरुले भोग्नु परिरहेको समस्या समाधानका लागि जनचेतनामूलक कार्यक्रम गर्न एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

१०. एनआरएनए युकेको राज्यव्यवस्था समितिको संयोजक एनआरएनए युकेको पदेन सदस्य हुने, विभागीय प्रमुखहरु उपाध्यक्ष हुने, एनआरएनए युकेका पूर्व अध्यक्षहरु संरक्षक रहने, सल्लाहकार छनौटमा योग्यता एवं संस्थागत अभियन्तालाई मापदण्ड बनाउने, क्षेत्रीय रुपमा गठन भएका समितिहरु एनआरएनए युके केन्द्रको नियम बमोजिम संचालन हुने गरी विधान संशोधन गर्न यो बैठक एनआरएनए युकेलाई सुझाव दिन चाहन्छ ।

११. गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौँ काउन्सिल बैठकमा प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिनुभएकोमा बेलायतका लागि नेपालका राजदुत डा. दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, अन्तर्राष्ट्रिय समन्वय समितिका सल्लाहकारहरु, एनआरएनए युकेका प्रमुख संरक्षक डमर घले र संरक्षकहरु, एनआरएनए युकेका सल्लाहकारहरु, सबै संघ संस्थाका प्रतिनिधिहरु, स्पोन्सरहरु लगायत यो काउन्सिल बैठक सम्पन्न गर्न सहयोग पु¥याउनुहुने सबैलाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

गैरआवासीय नेपाली संघ युके
२९ सेप्टेम्वर २०१८
Click here for more pic