१४ बैशाख २०८१, शुक्रबार
Follow Us

निर्मला हत्या प्रकरणः एसपी विष्टसहित तीन जनाको डिएनए मिलेन

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७५, आईतवार ०५:४९

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंका गरिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित तीन जनाको डिएनए परीक्षण मेल नखाएको खुलासा भएको छ ।

घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका एसपी विष्टसहित उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण गरिएकोमा म्याच नभएको कञ्चनपुरको सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ ।

उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । निर्मलाको भेजाइनल स्वाबमा भेटिएको बलात्कारीको शुक्रकिटसँग परीक्षण गरिएका तीन जनाको शुक्रकिट मेल नखाएको हो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत् आज सार्वजनिक गरिँदै छ ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दीलिप बिष्टको डिएनए परीक्षण पनि मेल नखाएपछि उनलाई रिहा गरिएको थियो । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मलाका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । पछिल्लो पटक नमूना संकलन गरिएका तीनै जनाको डिएनए म्याच नखाएपछि निर्मला हत्या प्रकरण नयाँ मोडमा पुगेको छ ।

निर्मलाको हत्यारासम्म पुग्न अब डिएनए परीक्षण गर्ने मात्र अन्तिम विकल्प रहेको बताईंदै आएको छ ।