७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्लमस्टिडमा खुल्यो नेपालीको पहिलो फार्मेसी

नेपालब्रिटेन डट कम्
१४ आश्विन २०७५, आईतवार १०:४०

लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको प्लमस्टिडमा नेपाली व्यवस्थापनको पहिलो फार्मेसी खुलेको छ । साउथ ईस्ट लण्डनमा यसअघि नै २ वटा फार्मेसी सञ्चालन गरिरहेको कंडेल ग्रुपले शुक्रबारदेखि प्लमस्टिड कर्नरमा तेस्रो फार्मेसी सञ्चालनमा ल्याएको हो ।

यसअघि सोगिम फर्मेसीका रुपमा सञ्चालन हुंदै आएको उक्त फार्मेसीलाई टेक ओभर गरेर कंडेल ग्रुपले अब ‘निम ट्री फार्मेसी’का नाममा सञ्चालन गर्न लागेको छ ।

ग्रुपले साउथ ईस्टकै एबिउडमा सन् २००९ देखि ‘निम ट्रि फार्मेसी’ सञ्चालन गर्दै आएको छ । सन् २०१४ देखि वुल्वीचमा ‘वुल्वीच लेट नाइट फार्मेसी’ पनि सञ्चालित छ ।

अब तीन वटै फार्मेसीलाई ‘निम ट्रि’का नामबाट सञ्चालन गर्ने योजना रहेको कंडेल ग्रुपका प्रबन्ध निर्देशक राजन कंडेलले बताए ।

एबिउड र वुल्वीचमा जस्तै प्लमस्टिडको फार्मेसीमा पनि नेपाली भाषा बोल्ने नेपाली फार्मासिस्ट र स्टाफहरु रहने बताइएको छ । जसबाट अंग्रेजी भाषा बोल्न नसक्ने बृद्धबृद्धा, भूपू गोर्खा र तीनका परिवार लाभान्वित बन्न सक्नेछन् । नेपालीको बाक्लो बसोबास रहेको साउथ ईस्ट लण्डनमा ठूलो संख्या भूतपूर्व गोर्खा र तीनका परिवारहरुको छ ।

‘हामीले फार्मेसीलाई विशुद्ध व्यवसायको रुपमा भन्दा पनि सेवाका हिसाबले पनि लिएका छौं । बेलायतमा बस्ने, अंग्रेजी नबुझ्ने विशेषगरी बुढाबुढी र गोर्खाहरुलाई नेपाली स्टाफबाटै सेवा उपलब्ध गराउने हाम्रो मुख्य प्राथमिकता रहन्छ’, कंडेल ग्रुपका प्रबन्ध निर्देशक राजन कंडेलले भने ।

सुरुका दिनमा प्लमस्टिडको फार्मेसी सोमबारदेखि शुक्रबारसम्म बिहान ९ देखि सांझ ७ बजेसम्म खुला रहनेछ । तर निकट भविष्यमा शनिबार पनि सञ्चालन गर्ने योजना छ । यो फर्मेसीले आवश्यकता अनुसार प्राइभेट डाक्टर बुकिंग, औषधिको होम डेलिभरी लगायतका विशेष सुविधाहरु पनि उपलब्ध गराउनेछ ।

यो फार्मेसीको सुपरिटेन्डेन्ट फार्मासिस्ट तथा म्यानेजिङ पार्ट्नर दिलाशा श्रेष्ठ छन्।
शुक्रबारदेखि सञ्चालनमा आइसकेको फार्मेसीको केहि साताभित्रै विशेष समारोह गरेर औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।