१२ बैशाख २०८१, बुधबार
Follow Us

चाड पर्वलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू

नेपालब्रिटेन संवाददाता
१४ आश्विन २०७५, आईतवार १४:३७

काठमाडौं । दशैं, तिहार जस्ता चाडलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी दशैं, तिहारलगायतका चाडपर्वलक्षित विशेष विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराएको हो।

चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाई काठमाडौंको जनजीवनलाई सहज र सरल बनाउने उद्देश्यका साथ विशेष सुरक्षा योजना लागू गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।

परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ। त्यसैगरी चाडबाडमा बढी भीडभाड हुने स्थान बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूला सपिङ मलमा विशेष निगरानी गरिएको पनि प्रमुख लामाले बताए।

जनताको जीउधनको सुरक्षाका लागि काठमाडौंका विभिन्न स्थानमा ६० वटा गस्ती टोली परिचालन गरेको परिसरले जानकारी दिएको छ। टोलीले दशैंमा उपत्यका बाहिर जाने यात्रुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य गर्नेछ।

परिसरले दशैं, तिहार लक्षित सुरक्षा योजनालाई प्रभावकारी बनाउन तीन हजार पाँच सय ३५ जना प्रहरी परिचालन गरेको छ। टिकट काउन्टर र काठमाडौंका मुख्य नाकामा परिसरले व्यापक सुरक्षा टोली परिचालन गरेको छ। व्यक्तिको सम्पत्तिको सुरक्षा, बैंक, वित्तीय संस्थामा हुने लुटपाट नियन्त्रण गर्न आवश्यक व्यवस्था मिलाइएको जानकारी प्रमुख लामाले दिए।