१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुनको आयात कोटा बढाएर २५ किलो पुग्यो

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७५, सोमबार १२:३७

काठमाडौं । सुनको आयात कोटा बढाएर २५ किलो पुर्‍याउने निर्णय भएको छ । चाडबाड र बिवाहको सिजन सुरु हुन लागेको भन्दै बाणिज्य मन्त्रालयको सिफारिसमा राष्ट्र बैंकले सुन आयातको कोटा बढाउने भएको हो । आगामी मंसिरसम्मका लागि राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा ५ किलोले बढाउने भएको हो ।

अहिले दैनिक २० किलो सुन आयात भइरहेको छ । यसमा ५ किलो थपेर २५ किलोसम्म ल्याउन पाइने निर्णय गरिएको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले आगामी मंसिरसम्मका लागि आयात कोटा बढाउन सिफारिस गरिएको जानकारी दिए ।

यता, सुनचाँदी ब्यवसायीले दैनिक आयात कोटा १५ किलोले बढाएर ३५ किलो पुर्याउन माग गर्दै आएका छन् । तर खस्किँदो विदेशी विनिमय सञ्चिति र बढ्दो शोधनान्तर घाटालाई हेरेर राष्ट्र बैंकले २५ किलो मात्र आयात गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सुन तस्करी मौलाएका बेला बिगतमा ब्यापारीले बैंकबाट सुन नै उठाउन छाडेका थिए । बैंकहरुसँग ६ सय किलोसम्म स्टक हुन थालेपछि आयात नै बन्द गर्न थालेका थिए । सुन तस्करीमा सरकारले कडाइ गरेपछि अहिले आएजति सुन ब्यापारीले उठाउने गरेको बैंकरहरु बताउँछन् ।