१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेकपा नामको डुंगा खतरामा पर्नसक्छ : खनाल

नेपालब्रिटेन संवाददाता
१५ आश्विन २०७५, सोमबार १२:५६

काठमाडौं । सरकारको कार्यशैलीप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिँदै गएका बेला नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी पद्दति र सरकार सञ्चालन विधिमा सुधार नगरे नेकपा नामको डुंगा दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सोमबार इमेज टेलिभिजनका संवाददाताहरुसँग कुरा गर्दै प्रधानमन्त्रीको कार्यशैलीका कारण नेकपा नामको डुंगा खतरामा पर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार बनेको सात महिना पूरा भएको छ भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको पनि पाँच महिना बित्न लागेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कार्यशैली सन्तोषजनक नभएको भन्दै पार्टीका वरिष्ठ नेताहरु नै सार्वजनिकरुपमा आलोचना गरिरहेका छन् ।

पार्टी एकीकरण भएकै दिन तल्ला तहका सबै कार्यसमिति भंग गरिदिएकाले अलमल भइरहेको उनको भनाइ छ । पार्टीभित्रको गुट–उपगुटका कारण सरकारको आलोचना हुँदा अर्को गुट रमाउने शृंखला त छँदैछ । तर, नेता खनाल यसले पार्टीलाई अहित गर्ने भन्दै जतिसक्दो चाँडो तत्लो तहसम्म एकता प्रक्रियालाई टुंग्याउन माग गरे ।

स्रोतकाअनुसार अहिले माधवकुमार नेपाल पक्षले नेतृत्वका विषयमा राखिरहेका भनाइ र शैलीप्रति पनि उनी सहमत छैनन् । नेकपाभित्र दुई अध्यक्ष मिलेर अधिकांश विषयमा निर्णय गर्ने प्रचलन छ । तर, सरकार र पार्टी सन्चालनका लागि शीर्ष तहबाटै यति धेरै असन्तुष्टि सार्वजनिक भइसक्दा पनि स्थायी समितिलगायतको बैठक लामो समयदेखि बस्न सकेको छैन ।