८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनको साख गिर्न दिन्न : भवन भट्ट, अध्यक्ष

नेपालब्रिटेन डट कम्
१५ आश्विन २०७५, सोमबार १५:५४

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले संघले निर्दिष्ठ गरेका कार्यहरु सबैको साथ र सहयोगमा अघि बढेको जनाएका छन् । भट्टले सं अक्टोवर दोस्रोसातामा एनआरएन डे मनाउन लागेको पूर्वसन्ध्यामा संस्थाभित्र सोमवार एक परिपत्र गर्दै गैरआवासीय नेपाली संघको साख बृध्दि गर्नेमा आफु लागेको उल्लेख गरेका छन् ।

उनले सघंका प्रमुख संरक्षक तथा संरक्षकज्युहरु, सल्लाहकार तथा अनररी काउन्सिल समितिका सदस्यज्युहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु, पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरुलाई लेखेको पत्रमा पूर्व कार्यकालमा अधुरो रहेका संघको सचिवालय भवन तथा संखमुल पार्क निर्माण कार्य करिब पुरा भएको उल्लेख गरेका छन ।

भट्टको पत्रमा यही अक्टोबर ११ दिन हामीले मनाउँदै आएको गैरआवासीय नेपाली दिवसका दिन भवन उद्घाटन तथा पार्क हस्तान्तरण गर्ने योजना रहेको सहर्ष जानकारी गराउन चाहन्छु भनिएको छ ।

पटक सधैं जस्तो विदेशमा क्षेत्रीय सम्मेलन नगरेर नेपालमा नै एनआरएन डे संगै विधान सभा र विज्ञ सम्मेलन लगायतका महत्वपूर्ण कार्यक्रमहरु हुने भन्दै विज्ञ सम्मेलनको लागि संयोजक डा. हेमराज शर्माको योगदानको कदर समेत गरेका छन् ।

पत्रको पूर्णपाठ

आदरणीय प्रमुख संरक्षक तथा संरक्षकज्युहरु,
सल्लाहकार तथा अनररी काउन्सिल समितिका सदस्यज्युहरु,
कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,
पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यज्यूहरु,

हाम्रो वर्तमान कार्यसमितिले कार्यभार सम्हालेको करिब एक वर्ष हुन लागेको छ । संसारभर छरिएर रहेको र दिनानुदिन विस्तार हुँदै गैरहेको हाम्रो गैरआवासीय नेपाली संघको साख बृध्दि गर्दै र संघका निर्दिष्ठ कार्यहरु सबैको साथ र सहयोगमा अघि बढाउँदै आजको दिनसम्म आइपुगेका छौं । यसबीचमा मुलत हाम्रो ध्यान संघले अघिबढाएका र पुरा हुन बाँकी रहेका आयोजनाहरुलाई सम्भव भएसम्म छिटो सम्पन्न गरेर हस्तान्तरण तथा उपयोग गर्ने तर्फ वर्तमान कार्यसमितिको ध्यान केन्द्रित भएको छ । यसका लागि मेरो नेतृत्वमा संघका पदाधिकारीहरु सहितको टोली लागिपरेको छ र कामहरुलाई द्रुत गतिमा अघि बढाइरहेको छ ।

पूर्व कार्यकालमा अधुरो रहेका संघको सचिवालय भवन तथा संखमुल पार्क निर्माण कार्य करिब पुरा भएको छ र यही अक्टोबर ११ दिन हामीले मनाउँदै आएको गैरआवासीय नेपाली दिवसका दिन भवन उद्घाटन तथा पार्क हस्तान्तरण गर्ने योजना रहेको सहर्ष जानकारी गराउन चाहन्छु । लाप्राक नमुना बस्ती पनि यो समय सम्म सकेर हस्तान्तरण गर्ने हाम्रो योजना थियो तर यो वर्षको अधिक वर्षा र पहिरोले बाटो अवरुध्द भै तोकिएका कामहरु सम्पन्न गर्न सकिएन तर छिटै नै लाप्राक वस्तीको निर्माण पनि सम्पन्न गरेर हस्तान्तरण हुने छ ।

संघले नेपाल सरकारसँग सहकार्य गर्दै अक्टोवर १३ र १४ मा विज्ञ सम्मेलनको आयोजना गर्न गैरहेको यहाँहरु सबैमा अवगत नै छ । सम्मेलनमा गैरआवासीय, आवासीय र विदेशी विज्ञहरुबाट करिब २०० कार्यपत्र प्रस्तुत हुँदैछन् । यो सिंगो कार्यक्रम हाम्रो कार्यकालको मात्र नभएर गैरआवासीय अभियान कै एउटा उदाहरणीय कार्यहुने कुरामा कुनै विमति छैन ।

हामीले प्रवासमा आर्जन गरेको ज्ञान र शीपलाई पूँजीसंगै नेपाल भित्र्याउन सक्दामात्रै मुलकका लागि हामीले सोचेजस्तो योगदान दिन सक्छौं भन्ने मलाई लागेको छ । यो सम्मेलनका निम्ति हाम्रा सल्लाहकार तथा हाम्रो अभियानमा लामो समयदेखि बौध्दिक रुपमा निरन्तर सहयोग गर्दै आउनु भएका डा. हेमराज शर्माको विशेष योगदान र भूमिका म स्मरण गर्न चाहन्छु । हामी सबै मिलेर यो विज्ञ सम्मेलनलाई बढी भन्दा बढी उपलब्धीमुलक बनाउन म सबै अभियन्ताहरुलाई विनम्र अनुरोध पनि गर्दछु ।

यसै गरी हाम्रो विधानमा आवश्यक परिमार्जन गर्नका निम्ति अक्टोवर १२ मा विधान सभाको आयोजना हुन गैरहेको छ । संघको इतिहासमा पहिलो पटक विधान अर्थात संघको संरचनागत विषयमा मात्रै छलफल गरी निष्कर्ष निकाल्न र आगामी दिनमा संघलाई अझ व्यवस्थित र सहज ढंगले अघि बढाउन यो विधान सभा र त्यसले गर्ने निर्णय महत्वपूर्ण हुने मैले विश्वास लिएको छु ।

यस पटक सधैं जस्तो विदेशमा क्षेत्रीय सम्मेलन नगरेर नेपालमा नै एनआरएन डे संगै विधान सभा र विज्ञ सम्मेलन लगायतका महत्वपूर्ण कार्यक्रमहरु हुने भएकाले यो अभियानमा महत्वपूर्ण योगदान दिदै आउनु भएका यहाँहरु सबैको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।

भवन भट्ट, अध्यक्ष गैरआवासीय नेपाली संघ