७ बैशाख २०८१, शुक्रबार
Follow Us

देउवाको कार्यशैलीप्रति नेताहरु आक्रोशित

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७५, मंगलवार ०७:१२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात महिना अघि संसदीय दलको बैठकले गरेको निर्णय कार्यान्वयन नगरेपछि अन्य कांग्रेस नेताहरु आक्रोशित भएका छन् । संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले पछिल्लो समय छलफल नै गर्न छाडेपछि अन्य नेताहरु आक्रोशित भएका हुन् ।

संसद जारी रहेको बेला संसदीय दल कार्यसमितिको बैठक १५–१५ दिनमा बोलाउनुपर्ने ब्यवस्था भएपछि त्यो व्यवस्थालाई वास्ता नगरेको कांग्रेस नेता गगन थापा बताउछन् । सभापति देउवाले सकारात्मक रुपमा काम नगर्दा प्रतिपक्षीको भुमिका प्रभावकारी रुपमा उठाउन नसकिएको पनि उनले बताए ।‘विधानमै उल्लेख भइसकेको विषय कार्यान्वयन नगरी सुखै छैन’ उनले भने ‘अब बस्ने संसदीय दलको बैठकमा यसबारे हामी कुरा गछौं ।’

संसदीय दलको त्यस बेलाको बैठकले सरकारको निगरानी गर्न छाया सरकार गठन गर्ने निर्णय पनि गरेको थियो, तर सभापति देउवाको कारण त्या पनि गठन हुन सकेको छैन् । फागुन १२ गते बसेको बैठकले संसदमा छाया सरकार बनाउने निर्णय नै गरेको थियो । बैठकमा नेता गगन थापाले छाया सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश गरेका थिए । ‘प्रस्तावमा छलफल भएर संसदीय दलको विधानमा नै समेटिएको छ’ उनले भने ‘तर कार्यान्वय गर्न अहिलेसम्म चासो देखाइएको छैन ।’

कांग्रेसले त्यसबेला प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरूकै संख्यामा अरू मन्त्री पनि बनाउने घोषणा गरेको थियो । छाया प्रधानमन्त्री र मन्त्रीहरूले आफूसँग सम्बन्धित मन्त्रालयको निगरानी गर्ने बताइएको थियो । प्रदेश र स्थानीय तहमा पनि छाया सरकार क्रमशः बनाउँदै जाने घोषणा थियो । समयमै छाया सरकार गठन गरेको भए सरकार बेलगाम नहुने बताए ।

‘मन्त्रालयगत कामका बारेमा अध्ययन हुन्थ्यो, जनताका समस्या पनि थाहा हुन्थ्यो, समस्या थाहा भएपछि सरकारलाई गलत बाटोमा जानबाट रोकिन्थ्यो’ उनले भने ‘त्यति मात्रै नभई ऐन बनाउने विषयमा समेत फरक धारणा राखेर फरक ढंगले अघि बढ्न सकिन्थ्यो, त्यो गर्न सकिएन ।’

यता कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले छाया सरकारभन्दा पनि संसदीय दलको विधानअनुसार विभिन्न समिति गठन गरेर अघि बढ्ने तयारी भइरहेको बताइन् । उनले मन्त्रालयगत विषयगत समितिहरू गठन गरेर अघि बढ्ने तयारीमा रहेको भन्दै त्यसले छिट्टै पूर्णता पाउने बताइन् ।