१६ चैत्र २०८०, शुक्रबार
Follow Us

३३ किलो सुन तस्करी प्रकरण : थाई एरवेजले ७ कर्मचारी हटायो

नेपालब्रिटेन संवाददाता
१६ आश्विन २०७५, मंगलवार ०८:१९

काठमाडौं । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछीएका थाई एयरवेजका ७ कर्मचारी निष्काशित भएका छन् । जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षका लागि थुनामा रहेका सात कर्मचारीलाई एयरवेजले असोज ५ बाट लागू हुने गरी अवकाश दिएको हो । अवकाश पाउनेमा हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, लालबहादुर मगर र कपिलराज पुरी छन् ।

मोरङ जिल्ला अदालतले अधिकांश प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । जेठ ८ गते जिल्ला अदालतले उनीहरुलाई थुनामा पठाउने आदेश गरेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उनीहरुले उच्च अदालत विराटनगरमा निवेदन दिएको भए पनि उक्त मुद्दामा केही दिनदेखि पेसी चढ्दै हट्दै आएको छ।

एयरवेजले सुन चोरी पैठारी तथा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेको अवधि ९० दिनभन्दा बढी भइसकेकाले प्रचलित श्रम ऐन अनुसार अवकाश दिइएको जनाएको छ । श्रम ऐन २०७४ को दफा १३४(६) अनुसार रोजगारदाता आफैँले उजुरी दिई थुनामा रहेको अवस्थामा बाहेक प्रचलित कानुन बमोजिम थुनामा रहेको अवस्थामा निलम्बन ९० दिनभन्दा बढी भएको अवस्थामा सेवाबाट अवकाश दिन सक्ने व्यवस्था छ ।