६ बैशाख २०८१, बिहीबार
Follow Us

पाँच किलो सुन बरामद

sarusaru
१७ आश्विन २०७५, बुधबार ११:२५

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“प्रतिकिलोग्राम रु ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ ।

यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो । सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो ।

परिसरका प्रमुख लामा सुनको मालिक अर्को भएको र भरियालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको बताउनुहुन्छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ ।

पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।
रासस