७ बैशाख २०८१, शुक्रबार
Follow Us

वाइड बडी विमान खरिदमा अख्तियारले गर्यो छानबिन शुरु

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७५, बुधबार १४:३५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा संलग्न जसलाई पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारवाही दायरामा ल्याउन आयोग प्रतिवद्ध रहेको बताएका हुन्।

बुधबार प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धि भ्रष्टाचारको मुद्दामा आयोगले गम्भिर अनुसन्धान गरिरहेको पनि स्पष्ट पारे। उनले वाइड बडी विमान खरिदका सम्बन्धमा आयोगले छानविन सुरु गरेको पनि समितिलाई जानकारी गराएका थिए।

प्रमुख आयुक्त घिमिरेले संविधानको दायराभित्र रहेर भ्रष्टाचारको छानविन गर्न आयोग प्रतिवद्ध रहेको पनि बताए। आयोगले अनियमित काम नगर्न स्थानीय तहलाई पनि सचेत गराएको छ। प्रमुख आयुक्त घिमिरेले स्थानीय तहलाई अनियमित काम नगर्न सचेत गराएका हुन्। उनले अनियमित काम गर्ने निकायलाई अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउन पनि समितिलाई आग्रह गरेका थिए।

बैठकमा समितिका सदस्यहरुले आयोगको काम कारवाही पारदर्शी र इमान्दार नदेखिएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कारवाही नगरेको भनेर प्रश्न गरेका थिए। ।

समितिका अर्का सदस्य जनार्दन शर्माले स्वतन्त्रातापूर्वक अनुसन्धानको काम अघि बढाउन नसकेको भन्दै आयोगको आलोचना गरेका थिए। उनले आयोगले राजनीतिक प्रभावमा परेर भ्रष्टाचारमा संलग्नहरुलाई कारवाही गर्न नसकेको दाबी पनि गरेका थिए।

समितिका सदस्यहरुले सरकारी निकायहरुमा हुने भ्रष्टाचारमाथि कडा निगरानी राख्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त घिमिरेको गम्भिर ध्यानाकर्षण गराएका थिए।