१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विधान संशोधन मस्यौदाका सुझावमाथि छलफल शुरु

नेपालब्रिटेन संवाददाता
१७ आश्विन २०७५, बुधबार १४:३७

काठमाडौं । नेपाली काङ्ग्रेसले सातवटै प्रदेशबाट प्राप्त विधान संशोधनको मस्यौदाउपरका राय सुझावमाथि बिहीबारदेखि छलफल प्रारम्भ गर्दैछ ।

विधान संशोधन मस्यौदा समितिको आज बसको बैठकले सो निर्णय गरेको काङ्ग्रेस केन्द्रीय कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो । विधान संशोधन मस्यौदामाथि राय सुझाव लिन सम्बन्धित प्रदेशमा खटिनुभएका विधान संशोधन मस्यौदा समितिका सदस्यबाट तयार गरेको आआफ्नो प्रतिवेदन बैठकमा प्रस्तुत गरिएको छ ।

समितिका संयोजक एवं काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त प्रतिवेदनउपर छलफल प्रारम्भ गर्ने निर्णय गरेको हो । काङ्गे्रसले यही असोज ८ देखि १३ गतेसम्म सातै प्रदेशमा अन्तक्र्रिया कार्यक्रम गरी विधान संशोधनका लागि सुझाव तथा राय सङ्कलन गरेको थियो ।

प्रदेश नं १ को इलाम र मोरङ, प्रदेश नं २ धनुषा र पर्सा, प्रदेश नं ३ ललितपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की र बागलुङ, प्रदेश नं ५ दाङ र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा राय सङ्कलन गरिएको हो ।

काङ्ग्रेसले अहिले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान परिमार्जन गर्ने तयारी थालेको हो । बैठकले विधान संशोधन मस्यौदा समितिद्वारा देशका सातवटै प्रदेशका १२ स्थानमा आयोजित प्रदेशस्तरीय राय सुझाव सङ्कलनका कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको र उक्त कार्यक्रममा सहभागी सबैलाई धन्यवादसमेत दिएको छ ।

सङ्घीय संरचनाअनुसार पार्टीको सङ्गठनात्मक संरचनालाई पुनःसंरचना गर्न काङ्ग्रेसले विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

गत भदौ ९ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि महासमितिको बैठक आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।