१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बालक अपहरणको गलत सूचनाले प्रहरीलार्इ सास्ती

sarusaru
१८ आश्विन २०७५, बिहीबार ०४:५८

काठमाडौं । बुधबार दिउँसो साढे १ बजे महानगरीय प्रहरीको कन्ट्रोल १०० मा गोठाटारबाट एक युवकले फोन गरे । र, ७ वर्षीय बालक अपहरणबाट परेको सूचना दिए ।

‘गोठाटारको तेजविनायक चोकबाट एकजना बच्चालाई गाडीमा जबरजस्ती हालेर अपहरण गरेको देखिएको छ’, ती युवकले भनेका थिए, ‘खोजी गर्नुहोला ।’

यसअघि भक्तपुरमा बालकको हत्या र अपहरण भएको घटनाबाट सतर्क भएका प्रहरी अधिकारीहरु फेरि सोही एरियामा बच्चा हराएको सुन्नासाथ चनाखो भए । उपत्यकाभित्रको जघन्य प्रकृतिको अपराध अनुसन्धानको जिम्मेवारी पाएको महानगरीय अपराध अनुसन्धान महाशाखासहित काठमाडौं प्रहरी परिसरको टोली तत्काल युवकले दिएको ठेगानामा पुग्यो ।

त्यहाँ परिसरका डीएसपी होमेन्द्र बोगटी, बानेश्वर वृत्त प्रमुख गोविन्द काफ्ले र बौद्ध वृत्तका डीएसपी श्यामकुमार राई पनि पुगेका थिए । त्यतिञ्जेल ७ वर्षे बालक अपहरणमा परेको समाचार भाइरल भइसकेको थियो ।

घटनास्थलमा पुगेपछि प्रहरीलाई सूचना दिने व्यक्ति ३५ वर्षीय अनिश दाहाल भएको खुल्यो । उनीसँग सोधपुछ गरेर प्रहरी अनुसन्धान सुरु भयो ।

हल्लाले प्रहरीलाई सास्ती

प्रहरीले अनुसन्धान त सुरु गर्‍यो तर, पीडितबारे कुनै जानकारी पाएको थिएन । प्रारम्भिक सूचनादाता दाहाललाई पनि उनकी हजुरआमा ७० वर्षीया भगवतीले बालकलाई जबरजस्ती कारमा हालेर लगेको सूचना दिएकी रहिछन् ।

‘त्यस्तै १ः१५ तिर म पेटीमा बसिरहेकी थिएँ । एउटा बच्चलाई गाडीमा हाल्दै गरेको देखेँ’, घटनास्थल पुगेका प्रहरी अधिकारीसमक्ष उनले भनेकी थिइन्, ‘बच्चाले मलाई किन हालेको भनिरहेको थियो । त्यही भएर मैले छोरालाई खबर गरेको थिएँ ।’

छोराले भने आमाले बच्चा अपहरणमा परेको सूचना पाउनासाथ प्रहरीलाई सूचना दिएको बताएका छन् ।

बानेश्वर वृत्तका डीएसपी काफ्लेका अनुसार घटनास्थलमा पुगेपछि त्यहाँको सीसी टीभी क्यामेरा चेकजाँच गर्नेदेखि छरछिमेकमा रहेकाहरुसँग सोधपुछ भयो । यद्यपि, ती महिलाबाहेक अरुले त्यस्तो घटना नदेखेको प्रतिक्रिया दिएको उनी बताउँछन् ।

‘हामीले त्यहाँका स्थानीय विद्यालय र टोलका अन्य मानिसहरुसँग पनि बच्चा हराए, नहराएको बारेमा जानकारी लियौं’, उनले अनलाइनखबरसँग भने, ‘तर, कतैबाट बच्चा हराएको सूचना पाइएन ।’

अझै खोजी गरिरहेकै छौंः एसएसपी सिंह

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह हालसम्म शंकास्पद केही नभेटिए पनि बालक अपहरणको सूचना भएकाले संवेदनशील भएर हेरिरहेको बताउँछन् ।

यद्यपि, दिउँसोको यदि घटना सही भएको भए करिब साढे ५ घन्टा भइसक्दा प्रहरीको कुनै न कुनै युनिटमा बच्चा हराएको सूचना आउनुपर्ने उनी बताउँछन् ।

‘काठमाडौं र भक्तपुर प्रहरीमा पनि घटनाको सत्य, तथ्य खोजीमा खटिएको छ’, उनले भने । परिसरका सिभिल इन्चार्ज डिएसपी बोगटीले पनि हालसम्म बच्चा अपहरणमा परेको कुनै यकिन सूचना प्राप्त नभएको अनलाइनखबरलार्इ बताए ।

‘यद्यपि, हामी संवेदनशील छौं’, उनले भने ।