७ बैशाख २०८१, शुक्रबार
Follow Us

फेकोफनको अध्यक्षमा पाठक

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार ०६:४२

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित हुनुभएको छ ।

यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । पाठक यसअघि कार्यसमितिको महासचिव हुनुहुन्थ्यो ।

कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा ठाकुर भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सचिव दिलराज खनालले जानकारी दिनुभयो । उपाध्यक्ष र कोषाध्यक्षको चयन भने आज बस्ने समितिको पहिलो बैठकले गर्नेछ ।

महाधिवेशनले प्रत्येक प्रदेशबाट आठ सदस्य (चार महिला र चार पुरुष) को प्रतिनिधित्व हुने गरी ५६ र समावेशी सदस्यतर्फ २६ गरी कूल ८२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका निर्वाचित सदस्यबाटै पदाधिकारी चयन हुने फेकोफनको प्रावधान छ ।

कार्यसमितिमा तीन सदस्य मनोनयन हुने व्यवस्था छ । कार्यसमितिको आज बस्ने पहिलो बैठकले उपाध्यक्ष र कोषाध्यक्षको पनि सहमतिमै चयन हुने नवनिर्वाचित महासचिव शाहीले जानकारी दिनुभयो । महाधिवेशनमा देशभरका ७२५ प्रतिनिधिको सहभागिता थियो ।