७ बैशाख २०८१, शुक्रबार
Follow Us

उच्च सैनिक अधिकृतहरुको सरुवा

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार ०८:२५

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र रहेको विकृति र विसंगतिलाई व्यापक सुधारको काम अघि सारेका छन् । सेनाको खरिद, ठेक्का–पट्टा, सरुवा, बढुवा, शान्ति सेना छनौट, एनडीसी, मेलटरी एटैची र क्याडेट भर्ना जस्ता काममा अनियमितता हुने गरेको गुनासो आएपछि उनले सुधारको लागि काम अघि सारेका हुन् । त्यसैले पनि थापाले सेनाको कमाण्ड सम्हालेपछि अब नेपाली सेनाभित्रका यस्ता विकृतिमा न्यूनीकरण भएर केही सुधार हुने हो कि भन्ने अपेक्षा गर्न थालिएको छ ।

उनले पद बहाली गरेलगत्तै उच्च सैनिक अधिकृतहरुको सरुवा समेत गरिसकेका छन् । आफू अनुकुलको टिम बनाउनका लागि व्यापक हेरफेर गर्दै पाँच सहायक रथी र केही प्रमुख सेनानीहरुको सरुवा गरेका हुन् ।

सरुवा हुने सहायकरथीहरुमा संजय सिंह भण्डारीलाई वन तथा पर्यावरण सुरक्षा निर्देशनालय, अनन्त कार्की सैनिक संगठन निर्देशनालय र ताराध्वज पाण्डेलाई कल्याणकारी योजना निर्देशनालयमा सरुवा गरिएको छ । त्यस्तै सहायक रथी भरतप्रसाद पाठक रणनीतिक तथा दीर्घकालीन योजना निर्देशनालय र राम राणालाई नम्बर १ बाहिनीको बाहिनीपतिमा सरुवा गरिएको सैनिक स्रोत जानकारी दिएको छ ।

सैनिक मुख्यालयले केही महासेनानीहरुको पनि सरुवा भएको छ । सरुवा हुनेमा महासेनानीमा भोलानाथ थापा र ज्योतिन्द्र महत रहेका छन् । महासेनानी थापाको नेपाली सैनिक वार कलेज र महतलाई युद्धकार्य निर्देशनालयको जिम्मेवारी दिइएको छ ।

दुई वर्षदेखि संभारमा रहेका प्रमुख सेनानी निरञ्जन बस्नेतको पनि सरुवा भएको छ । त्यस्तै प्रमुख सेनानीहरु बवि चन्द, गोविन्द बहादुर श्रेष्ठ, सुलभ खड्का, जयराम थापाको समेत सरुवा भएको छ । चन्दलाई सैनिक सामाग्री प्राप्ति निर्देशनालय, बस्नेत पूर्वी पृतना तालिम केन्द्र, श्रेष्ठ ३ बाहिनी, खड्का २३ बाहिनी र थापाको आपूर्ति तथा परिवहन गणमा सरुवा भएको छ ।

सेनाका चार जनाभन्दा बढी प्रधानसेनापतिलाई खुशी बनाएर डीएमओमा हालीमुहाली गर्दै आएका सह सेनानी शिवहरी पुडासैनीको पनि काज सरुवा भएको छ । पुडासैनीमलाई डीएमओमा बसेर परिचालन भत्तामा खेल्दै आएको आरोप थियो । अधिकृत पुडासैनीलाई युद्धकार्य निर्देशनालयबाट विकास निर्माण कार्यदल गण–१ मा काज फिर्ता गरिएको थियो ।