२६ बैशाख २०८१, बुधबार
Follow Us

ओलीविरुद्ध म षडयन्त्र गर्दिन : प्रचण्ड

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार ०८:२९

काठमाडौं । श्रीमतीको उपचारका लागि सिंगापुर गएर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल स्वदेश फर्किसकेका छन् । उनी सिंगापुर जानु अघिल्लो दिन असोज ९ गते उनले आफ्नो जीवनमा दुई वटा कुराको ठूलो पश्चाताप रहेको बह पोखेका थिए । विभिन्न संचारमाध्यमका सम्पादकहरुसँग उनी यति खुलेर कुरा गरेकी उनले सजिलै आफ्नो मनको बह पोखेका थिए ।

‘मैले जीवनमा दुईवटा ठूला गल्ती गरे’ मनको बह पोख्दै उनले भने ‘जसबाट मलाई पश्चाताप पनि भइरहेको छ ।’ यही दुई वटा गल्तीको कारण उनले अब विगतमा जस्तो पश्चाताप हुने गरी भूल नगर्ने र ओलीविरुद्ध षडयन्त्र गर्ने पक्षमा नरहेको पनि बताए । उनले भने ‘केपी ओलीविरुद्ध म षडयन्त्र गर्दिन ।’

दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र १२ बुँदे सम्झौताका सहयोगीहरुलाई विच्क्याउनु नै आफ्नो दुई ठूलो भुल भएको बताएका थिए । त्यतिबेला कांग्रेस सभापति कोइराला राष्ट्रप्रमुखको समेत जिम्मेवारी लिएर प्रधानमन्त्री पदमा थिए । कोइरालालाई राष्ट्रपति बनाउने अनौपचारिक सहमति भएको थियो ।

तर, अन्तिममा दाहालले खेल खेलेर माधव नेपाललाई राष्ट्रपति बनाउनतिर लागे । त्यो पनि नगरेर दाहाल राष्ट्रपतिको निर्वाचन गराउने खेलमा लागे । त्यसले गर्दा कोइराला र दाहालको सम्बन्ध सुमधुर बनेन पछिल्ला दिनमा ।

‘कोइरालालाई राष्ट्रपति बनाएको भए माओवादी अनुकूल संविधान जारी हुने थियो र माओवादी पार्टी अहिलेको अवस्थामा पनि आउने थिएन’ उनले भने ‘यो घटनाबाट आफुलाई पश्चाताप भइरहेको छ ।’

दाहालले दोस्रो पश्चातापको रुपमा घुमाउरो भाषामा भारतलाई विच्क्याउनु वा गाली गर्न नहुने पनि त्यही बेला बताए । ‘१२ बुँदेसम्झौताको सहयोगी फोर्स मध्ये भारत पनि हो । भारतसँग दुश्मनी नै लिने गरी आन्दोलन गरेका थियौं’ उनले भने ‘त्यो आन्दोलन पनि गलत थियो ।’

सम्पादकहरुको भेटमा दाहालले यस्ता कमजोरी अब दोहोरिन नदिने प्रतिबद्धता पनि गरेका थिए ।