पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं २ खुरकोटका २६ वर्षीय गणेश भनिने फणिन्द्रराज पौडेल गएको तीजको दरखाने दिन भदौ २६ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परे । आठ वटी छोरीको जन्मपछि जन्मेका एक छोरो त्यो पनि तीजमा दिदीहरुलाई जम्मा गरेर दर खुवाउने दिनमा झुण्डिएर आत्महत्या गरे । स्नातकोत्तर तहमा अध्ययनरत पौडेल केही समय पहिलेदेखि मानसिक समस्याबाट पीडित थिए । मानिस देखी डराउने स्वभाव रहेका पौडेल श्रीमती माइत गएको मौका छोपी झुण्डिएका थिए । उनका दुई छोरी समेत छन् ।

पौडेल मात्र होइन कुश्मा नगरपालिका वडा नं ७ की १८ वर्षीया बबिता सुवेदी पनि गएको भदौ महिनामै आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परिन् । बिहान घर सफा गरेकी गौतम मृत फेला परेपछि परिवारका सदस्यले प्रहरीमा खबर गरे । गएको असारमा मात्रै विवाह बन्धनमा बाँधिएकी गौतमले आत्महत्या नै गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो । उनले किन आत्महत्या गरिन् वा मृत्युको कारण अरु नै कुनै थियो भन्ने खुल्न सकेको छैन ।

पौडेल र गौतम मात्रै होइन पर्वत जिल्लामा पछिल्लो समयमा आत्महत्याका घटना बढ्न थालेका छन । आर्थिक वर्ष २०७५-७६ को साउन र भदौ दुई महिनामा छ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये अधिकाँश महिला छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष २०७४-७५ मा ३६ जनाले आत्महत्या गरे । यसमा झुण्डिएर आत्महत्या गर्ने २७, हाम फाली आत्महत्या गर्ने सात र विष खाई आत्महत्या गर्ने दुईजना रहेका छन् । आर्थिक वर्ष २०७३-७४ मा ३१ जनाले आत्महत्या गरे जसमा झुण्डिएर आत्महत्या गर्ने २६, हाम फाली आत्महत्या गर्ने चार र विष खाई आत्महत्या गर्ने एकजना छन् । आव २०७२-७३ मा २९ जनाले आत्महत्या गरेका थिए । यसमा झुण्डिएर आत्महत्या गर्ने २३, हाम फाली आत्महत्या गर्ने चार र विष खाई आत्महत्या गर्ने दुईजना रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । तिवारीका अनुसार आत्महत्या गर्ने क्रम बढेर डरलाग्दो रुप लिन थालेको छ ।

पर्वतमा घरेलु हिंसा र आत्महत्या प्रमुख समस्याको रुपमा रहेका छन् । यस सामाजिक विकृतिविरुद्ध जनचेतना जगाउनु नै पहिलो आवश्यकता हो भन्ने निष्कर्षसहित समुदायसँग मिलेर अभियान थाल्ने कार्ययोजना बनाइएको तिवारीले बताउनुभयो । आत्महत्या गर्नेहरुमा महिला नै धेरै छन् । विदेशमा श्रीमान् रहँदा परपुरुषसँग हुने सम्बन्ध तथा एक आपसमा बढ्ने अविश्वासका कारण पनि आत्महत्याका घटना बढेको देखिएको छ ।

आत्महत्या कुनै रोग नभएर विभिन्न समस्या र परिस्थितिका कारण सिर्जना हुने एउटा अवस्था हो जसमा मानिस आपैmंले आपैmंलाई हत्या गर्छ वा घात गर्छ । यस्ता परिस्थितिहरु आउनाका कारण उदासीनता (डिप्रेसन) हुने गरेको मनोविश्लेषकहरुको भनाइ छ । संसारमा जति मानिसको मृत्यु हुन्छ त्यसको एक हिस्सा आत्महत्या पनि हो । विद्यालय तहका बालबालिकादेखि युवा, वयस्क र वृद्धवृद्धाले पनि आत्महत्या गर्ने गरेका छन । तथ्याँक अनुसार नेपालमा प्रत्येक दुई घण्टामा एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । आत्महत्या गर्नेहरूमा १५ देखि ४९ वर्ष उमेर समूहका धेरै देखिन्छन् ।

प्रनाउ तिवारी भन्नुहुन्छ – “हरेक व्यक्तिले जीवनमा केही गर्ने अभिलाषा बोकेको हुन्छ । उसले त्यसलाई सपना सम्झेको हुन्छ तर, जब त्यो कुरा पूरा हुन पाउँदैन त्यही अवस्थामा डिप्रेसन शुरु हुन्छ । अनि, एकोहोरिएको मान्छेले अन्तिम उपायको रुपमा आत्महत्यालाई देख्छ ।” हरेक मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राख्न पुग्छ । जब तनावमा हुन्छ, त्यही बेलामा नै उसले आत्महत्या गर्न पुग्छ । इच्छाशक्ति बलियो हुने व्यक्ति भने जोगिन्छ । धेरैजसो घटनामा आत्महत्या गर्नाका पछाडि आर्थिक सङ्कट वा गरीबी, पारिवारिक बेमेल, असफल प्रेम, असफलता लगायतका कारणहरु देखिएका छन् ।

यस्तै आप्नो इज्जतमा धक्का, व्यापार व्यवसायमा घाटा, आर्थिक बोझ, आफन्तको शोक, परिवारजनको मृत्यु, प्राकृतिक विपत्, एक्लोपना, गल्ति वा अपराध, महत्वाकांक्षा, दीर्घरोग, महिला अस्मितामाथि शंका लगायतले पनि मानिसलाई आत्महत्या गर्न प्रेरित गरिरहेको हुन्छ ।

आत्महत्याका लक्षण र रोकथामका उपाय
आत्महत्या गर्न खोज्ने व्यक्तिको स्वभाव अरु सामान्य व्यक्तिको भन्दा फरक रहने मनोवैज्ञानिकहरु बताउँछन् । उनीहरु प्रायः समूहमा रहन मन पराउँदैनन् । एक्लै टोलाउने र धेरै कुरा सोच्ने बानी परेका हुन्छन् । मनोविज्ञानबारे अध्ययन र अध्यापन गर्नुहुने पर्वतका प्राध्यापक राजेन्द्र पहाडी भन्नुहुन्छ – “आत्महत्या गर्न खोज्नेहरुले मर्ने उपाय के होला भनेर सोचिरहेका हुन्छन् । मृत्युको कुरामा बढी चासो व्यक्त गर्छन् । प्रायशः निराश देखिने, आपैmंले आपूmलाई घृणा र अविश्वास गर्ने, एकान्तमा बस्न मन पराउने, असामान्य व्यवहार गर्ने गर्छन् ।” आत्महत्या गर्ने मौका खोजिरहेकाहरुले मर्ने मान्छेले झै इच्छा देखाउने, अनावश्यक रुपमा साथीलाई फोन गर्ने, धेरै नबोल्ने वा अत्यधिक बोल्ने, बोल्दा, हिँड्दा, खानपिन गर्दासमेत फरक व्यवहार देखाउने मनोपरामर्शदाताहरु बताउँछन् ।

आत्महत्या गर्न खोज्ने मानिसहरुको साथमा धेरै समय रहने, खुशी भैदिने, रमाइलो गरिदिने लगायतका कुराहरु गरेर उसलाई तत्कालको दुर्घटनाबाट जोगाउनु उत्तम विकल्प हो । त्यसपछि भने विस्तारै उसको बारेमा अध्ययन गर्ने र उदासीनतामा परेका वा अचानक आत्महत्याको निर्णयमा पुग्न लागेकाहरुको मनको कुरा खोतल्ने प्रयास गर्नुपर्छ । तर, यो पनि सबै व्यक्तिले होइन आत्महत्याको प्रयास गर्ने व्यक्तिले रुचाइएका निकटका व्यक्ति भएमा मात्र सम्भव छ । आत्महत्याको प्रयास गरेका वा गर्न लागेका व्यक्तिलाई कहिल्यै पनि होच्याउने, गिज्याउने, व्यङ्ग्य गर्ने, हाँसोमा उडाउने, यस्तो नगर भनेर निर्देशन वा आदेश दिने लगायतका कामहरु गर्नुहुँदैन । आत्महत्या मानवताविरोधी अपराध हो । यसलाई मानव जीवनको कमजोर मानसिकता वा साँधुरो बुझाइको द्योतक मानिन्छ । आत्महत्याका कारण विभिन्न हुन सक्छन् । समस्यामा परेको व्यक्तिको मूल जरोमा पुगेर निदान खोज्न सकियो भने व्यक्ति आत्महत्याबाट जोगिन सक्छ ।

नेपालको सन्दर्भमा पछिल्लो घटनाक्रमलाई नियाल्ने हो भने आत्महत्याको एउटा प्रमुख कारण सामाजिक सञ्जाल पनि बनेको छ । सामाजिक सञ्जालकै माध्यमबाट गाँसिने प्रेम सम्बन्ध, अपरिपक्व उमेरमा गरिने प्रेम र असुक्षरित यौन सम्बन्ध अन्य कारणहरु हुन् । यी बाहेक बच्चाहरुले माग गरेका कुरा अभिभावकले पूरा गरिदिन नसक्नु, घरको निगरानी बढी हुनु वा बढी स्वतन्त्र हुनु लगायत पनि छन् । हरेकले आफ्नो व्यवहार र अरुले गर्ने व्यवहारका बीचमा विश्लेषण गर्न सक्यो भने नकारात्मक सोचको विकास हुन पाउँदैन । यसैगरी, समुदायमा विभिन्न खालका चेतनामूलक कार्यक्रम तथा अभियान चलाउने गरेमा पनि यो प्रवृत्तिमा कमी आउन सक्छ । आत्महत्याको लक्षण देखिएका वा कुनै सकसमा परेका व्यक्तिलाई उपयुक्त परामर्श समयमै उपलब्ध गराउन आवश्यक छ । पीडामा परेका व्यक्तिहरुको पहुँचमा रहने गरी हतियार, लागुपदार्थ, औषधि, विषादी लगायतका ज्यान लिन सक्ने वस्तुहरु राख्नुहुँदैन ।
– लक्ष्मीप्रसाद सापकोटा