१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बोल्दै जाँदा पुरानो गीतहरु सम्झनामा आउँछ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार १३:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसँगको सम्बन्ध २९ साल पुरानो भएको बताएका छन् । राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका उनले आफू अमेरिका रहँदा नेता माधव नेपालले दिएको अभिव्यक्तिको जवाफ दिदै आफुहरुबीच घनिष्टता र मित्रता रहेको र सँगै काम गरेको भएर पनि सम्बन्धमा चिन्ता नगर्न पनि आग्रह गरेका छन् ।

उनी देश बाहिर रहेका बेला संसदमा सम्बोधनका क्रममा माधव नेपालले देश डुब्न लागेको भनेको प्रसंगलाई ओलीले व्यंग्यात्मक जवाफ फर्काएका हुन्। ‘बोल्दै जाँदा पुरानो गीतहरु सम्झनामा आउँछ, त्यसैलाई ठूलो कुरा बनाउनुपर्ने केही पनि छैन’ उनले भने ‘के कुरामा अलिकति चित्त बुझेको हुँदैन। कविमनले कवितामा, लयात्मक ढंगले केही कुरा भनिहालियो भने त्यसैलाई समातेर कुदिहाल्नुपर्ने केही छैन ।’

प्रधानमन्त्री ओलीले नेता नेपालले संसदमा के के भन्नुभएको हो आफूलाई पूर्ण जानकारी नभएको पनि बताए । उनले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछाडि लाग्नु दृष्टिकोण नभएको राजनीति हुने बताए । त्यस्ता राजनीतिको पछाडि कतिपय पक्ष कुदे भने मुद्दाहीनताको कुरामात्र देखिने पनि बताए

हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै ओलीले भएपछि तल्ला तहहरुसँग एकता भएन भनेर प्रश्न उठेको बताए ।

सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए ।

उनले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताएका छन् । राष्ट्रसंघको ७३ औं महासभालाई सम्बोधन गर्न अमेरिका गएका प्रधानमन्त्री ओलीले कोष्टारिकाको पनि भ्रमण गरेर फर्किएका छन् ।