१५ चैत्र २०८०, बिहीबार
Follow Us

अराष्ट्रिय तत्वका घर भनी कोही बस्न मान्दैन थिए

नेपालब्रिटेन संवाददाता
१८ आश्विन २०७५, बिहीबार १३:५६

प्रा.डा. देवकुमारी गुरुङ
१३ वर्षको उमेरपछि विद्यालय टेकेकी देवकुमारी गुरुङ गुरुङ समुदायबाट विद्यावारिधि गर्ने पहिलो महिला हुन् । ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा ६४ वर्षअघि जन्मेकी देवकुमारी छोरीलाई पढाउन हुँदैन भन्ने मान्यताका कारण ढिलो विद्यालय भर्ना भएकी हुन् । एकैपटक कक्षा ६ मा भर्ना भएकी थिइन् उनी । विद्यालयदेखि कलेजसम्म संधैं प्रथम हुने देवकुमारीसँग पत्रकार सृजना अर्यालले गरेको कुराकानी :

० लामो समय शिक्षण पेसामा लागेर हालै निवृत्त हुनुभएको छ, दैनिकी कस्तो छ त ?
– पढाउन जान छोडेपछि झन् बढी व्यस्त भइयो । सामाजिक संघसंस्थाले बोलाउँछन् । सामाजिक काममै बढी समय दिन थालेकी छु । किताब पढ्न नपाउँदा पानी खान नपाएको जस्तो छटपटी भइरहन्छ । तर केही दिनदेखि खुट्टा भाँचिएर घरमै आराम गरिरहेकी छु ।

० किताबको तीर्खा अझै मेटिएको छैन ?
– छैन नि, मैलै जब अक्षर चिन्न थालें, तबदेखि किताब त मेरो प्राण जस्तै प्यारो भयो । विद्यालय नजाँदै सुरुमा मलाई कान्छादाजु डिलमान गुरुङले अक्षर चिनाउनुभएको हो । अक्षर चिन्न थालेपछि सबैका किताब खोजी खोजी पढ्थें ।

० ढिलो स्कुल भर्ना हुनुु भएछ नि ?
– हाम्रो परिवार शिक्षित नै थियो । बुबा भविमान गुरुङ जिल्ला अदालतको वैदार हुनुहुथ्यो । उहाँ मुलुकमा खोसिएको प्रजातन्त्रको पुनस्र्थापनाका लागि क्रान्तिमा पनि संलग्न हुनुहुथ्यो । हाम्रो घरबजार र गाउँको बीचमा थियो । प्रायः हाम्रो गाउँका छोरीहरूलाई पढाउने चलन थिएन । म नै मेरो गाउँको विद्यालय पुग्ने पहिलो चेली हुँ । बुवा राजनीतिमा लागेका कारण हाम्रो घरलाई अत (अराष्ट्रिय तत्व) को घर भन्थे । यतिसम्म कि घरमा काम गर्ने मान्छे पनि कोही बस्न मान्दैनथे । पढ्ने रहर थियो । बुवाले पनि छोराछोरी सबैलाई पढाउनुपर्छ भन्नुहुथ्यो । दुई दिदीहरूको त १२ वर्ष पुगेपछि नै विवाह भयो ।

० विद्यालय कसरी जान पाउनु भो त ?
– अक्षर चिनेपछि पढ्नै साह्रै रहर लाग्ने । बाख्रा, भैसी चराउन जाँदा घरको चिउरा, काँचो चामल, चिनी मिसिएको खाजा खान दिएर साथीहरूलाई हेरदिन लगाउँथे । म भने पढ्ने गर्थें । बुवा जेलबाट छुटेपछि घर आउनुभएको थियो । मेरो पढाइप्रतिको लगनले होला कान्छीले कति जानेको छ पढ्न भनी दाजुलाई सोध्नुभएछ । दाजुले धेरै सिकेकी छ भनेपछि भर्ना गर्नङ्घ भन्नुभयो ।

० एकैचोटि ६ कक्षामा भर्ना हुनुभएछ त ?
– गाउँभन्दा तल रहेको भानु पब्लिक हाइस्कुलमा भर्ना हुन दाजुले लग्नुभयो । दुईचुल्ठी बाटेर म विद्यालय गएँ । भर्ना हुनुअघि चारवटा विषयमा प्रवेश परीक्षा दिनुपर्ने रहेछ । चार घन्टासम्म जाँच दिए । सबैमा राम्रो गरें । त्यतिखेर सानो दाजुले प्रवेशिका त्यही विद्यालयबाट दिनुभएको थियो । जसले त्यहाँबाट प्रवेशिका दिन्छ, उसले एक वर्ष स्वयंसेवक भई पढाउनै पर्ने नियम थियो । दाजुले पनि त्यहीँ पढाउनु हुन्थ्यो । मेरो उत्तरपुस्तिका हेरेपछि एनडी सरलाई ६ कक्षा पढ्न सक्ने लागेछ । तर प्रधानाध्यापकले ६ कक्षाका लागि ५ कक्षा पासको सर्टिफिकेट चाहिन्छ भन्नु भो । एनडी सरले भने ६ कक्षामै भर्ना गरौं भन्नुभयो । अन्ततः ६ कक्षामा भर्ना हुन पाएँ ।

० पहिलो दिनको विद्यालयको अनुभव सुनाउनु न ?
– मलाई सानोदाजुले विद्यालय लग्नुभयो । र, कक्षामा छिराउनु भयो । सबैजना प्रार्थना गर्न लाइनमा थिए, म भने विद्यालयको बार्दलीमा उभिएँ । पछि सबैैजना कक्षा आए, म पनि गएँ । डेक्सको मुनि बक्समा किताब राख्नुपर्ने रहेछ । मलाई त्यो थाहा भएन, मैले त डेक्समाथि नै राखें । मेरा साथीहरूले डेक्समाथि किताब राखेको भनी व्यंग्य हान्न थाले । एकजना केटाले त भोलिपल्ट पनि दिलमान सरको बहिनीले डेक्समाथि किताब राखेको भन्यो, अरु केटाहरू गलल्ल हाँसे । शौचालय जाने बेला १० मिनेटको ब्रेक टाइममा त्यो केटो गएको थिएन, मलाई साह्रै रिस उठेको थियो, त्यसको कठालो समातेर रिंगाएर छोडे । त्यसदिनदेखि त्यो केटो साथी मसँग कहिल्यै बोलेन ।

० कक्षामा कतिजना थिए ?
– हामी ६४ जना थियौ । छात्राहरू पाँचजना थियौ । पूर्व सांसद देवराज घिमिरे, लय निरौलालगायतकाहरू सँगै पढेको । लयजी र मेरो त एकपटक बराबर नम्बर आएको थियो, तर ६ कक्षाको रिजल्टका आधारमा म नै पहिलो भएकी थिएँ । सधै प्रथम हुँदै गएँ म ।

० प्रवेशिका उत्तीर्ण गरेपछि पनि पढ्न पाउनु भएछ त ?
– ढुंग्र्री, बुलाकी लाउन दिन सक्दिनस् छोरीलाई स्कुल पढाउँछेस् भनेर आमालाई छरछिमेककाले व्यंग्य पनि गर्थे, तर मलाई भने पढ्ने मोहले छोडेको थिएन । बुवालाई कलेज पढ्न दिनुस्, पछि तपाईहरूले भनेको मान्छु भनें । २०३० सालमा मैले एसएलसी दिएको । एसएलसीपछि रिजल्ट नआउँदै धनकुटा पढ्न आउने मेसो मिलाएँ । अहिले जस्तो सजिलै रिजल्ट थाहा पाउने बेला पनि थिएन । गुन्दु्रक, भटमास, चामल बोकेर सुशीला श्रेष्ठ राई, भद्रामाया सुब्बा, निर्मला श्रेष्ठसँगै दुई दिन हिँडेर धनकुटा सदरमुकाम पुग्यौ । कलेज भर्ना र होस्टेलका लागि प्रवेश परीक्षा दियांै । मेरो दुवैमा नाम निस्क्यो । युनिसेफले चलाएको होस्टल थियो, मासिक १५० रुपैयाँ पनि दिन्थे । फि, कपीकलम सबै किनेर पनि पैसा बच्थ्यो । प्रवीणता प्रमाणपत्रमा नि राम्रो गरें । मास्टर्स पढ्ने बेला भने काठमाडौं आए ।

० त्यति पढ्दासम्म विवाह गरिदिने कुरा घरमा चलेन ?
– मैले पढाइ नसकी विवाह गर्दिन नै भनेकी थिएँ । एसएलसी नदिँदै एक परिवार विवाहका लागि माग्न आउनु भाको मलाई सम्झना छ । उहाँहरू धनी हुनुहुन्थ्यो, दूधको व्यवसाय थियो, मेरो बुवाले मेरो छोरीले त खाना पकाएर बस्दिनँ, के गर्ने उसलाई पढ्ने रहर छ, राम्रो पढेकी पनि छ, जति पढ्छु भन्छे पढाउँछु भनेर पठाइदिनुभयो । बुवाको कारण पनि अध्यनमा सहज भयो । एमए सकेपछि बुवाले तैंले भनेको जति पढाएँ, तेरो कुरो माने, अब भने मैले भनेको मान्नुपर्छ, कुटुम्ब राम्रा छन्, मैले त विवाहको कुरो छिनेर आएको छु भन्नुभयो । त्यतिखेर मेरो श्रीमान् चन्द्रमान गुरुङ ब्रिटिस क्याम्पकालाई पढाउनु हुन्थ्यो । मेरो काका र ससुरा एउटै पल्टनमा काम गर्ने हुनु हुँदोरहेछ । मलाई त्यसबेला गाउँगाउँमा प्रौढ शिक्षा पढाउने रहर थियो । घुम्ती टोली जस्तो प्रौढ शिक्षाको कार्यक्रम ल्याउने इच्छा थियो । विवाह भएपछि घरपरिवार, छोराछोरी सोचेको जस्तो कहाँ नै पुग्ने रहेछ र ।

० विद्यावारिधि पनि गर्नङ्घभएछ नि ?
– रत्नराज्यलक्ष्मी क्याम्पस पढाउने क्रममा छात्रावृत्ति पाएर सन् १९९३÷९४ बेलायतको विश्वविद्यालयबाट एमएस्सी गरें । त्यो दुई वर्षे कोषर््ा मैले १६ महिनामा नै सके, त्यसपछि सन् १९९६ मा पनि नर्वेमा पढ्ने अवसर मिल्यो । मेरो छोरा सार्थक र छोरी डा.दृश्या हाल लन्डनमै बस्छन् । उनीहरूले आमा तपाईको डाक्टर लेखाउने रहर छ । हाम्रो चिन्ता नगर्नङ्घ हजुरको इच्छा पूरा गर्नङ्घ भनेर झन् हौसाए । मलाई डाक्टर लेखाउने रहर पनि थियो । जवारलाल नेहरू विश्वविद्यालयबाट एमफिल गरी सन् २०१० मा ‘इन्टरनेसनल रिटर्न माइग्रेसन एन्ड सोसियो इकोनोमिक कल्चर टान्सफर्मेसन इन काठमाडौं भ्याली ः ए केस स्टडी अफ ब्रिटिस गोर्खा आर्मी फोर्स’ मा विद्यावारिधि गरें ।

० महिला प्राध्यापकको दैनिकी आममहिलाभन्दा फरक होला नि ?
– घरमा हामी आममहिलासरह नै हुन्छौं । हरेक महिलाले गर्ने काम हामीले पनि गर्नै पर्छ । घर, समाज अनि पेसा तेहोरो भूमिकामा हामी खटिनुपर्छ ।

० गुरुङ समुदायको पहिलो महिला प्राध्यापक बन्दा कस्तो लागेको छ ?
– वास्तवमा म पहिलो नै हुन्छु भनेर पढेको थिइनँ, तर निरन्तर प्राध्यापन पेसामा लागें, सहप्राध्यापक हुँदै प्राध्यापक भएँ । विभिन्न विषयमा अनुसन्धान गरें । परिश्रम गरेकी थिएँ, फल पनि पाएँ ।

० प्राध्यापन क्षेत्रमा लामो समय लाग्नुभयो, धेरै क्षेत्रबाट सम्मानित हुनु भयाो होला नि ?
– विभिन्न संघसंस्थाले सम्मानित गरेका छन् । जसमध्ये राष्ट्रिय शिक्षा दिवस २०६९ मा नेपाल विद्याभुषण पदक, दीर्घसेवा पदक रत्नराज्यलक्ष्मी क्याम्पस, एभरेष्ट वातावरण समुदाय महिला संघ, तमु बौद्ध सेवा समिति नेपाल, तमु ल्होछार मूल आयोजना समिति २०७२ लगायतका संघसंस्थाप्रति आभारी पनि छु ।