७ बैशाख २०८१, शुक्रबार
Follow Us

मापदण्ड पूरा नभएका भवनको पनि नक्सा पास

sarusaru
१९ आश्विन २०७५, शुक्रबार ०४:१४

कञ्चनपुर । भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गर्न शुरु गरिएको छ।

उक्त नगरपालिकाको तेस्रो नगरसभाले उक्त निर्णय गरेको थियो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ बमोजिम भवन संहिता लागू हुनुपूर्व प्रक्रिया पुर्याएर निर्माण गरिएका सबै भवनको नक्सापास गर्न थालिएको हो। उक्त परिच्छेदमा भवन निर्माण तथा सडकसम्बन्धी व्यवस्थाअन्तर्गत स्थानीय तहबाट नक्सापास नगरी भवन निर्माण गर्न नपाइने प्रावधन छ।

नगरपालिका वा गाउँपालिकाकाले तोकेको क्षेत्रमा भने नक्सापास नगराई भवन निर्माण गर्न सकिने व्यवस्था छ।

नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट उक्त संहिता लागू हुनुपूर्व निर्माण गरिएका भवनको नक्सापास गरिने निर्णय भएको जानकारी दिए। गत भदौ १ गतेदेखि शुरु गरिएको नक्सापास ६ महीनासम्म जारी रहनेछ।

नगरपालिकाका वडा कार्यालयले पनि नगरसभाको निर्णयबमोजिम पुराना भवनको नक्सापास गराउन सार्वजनिक सूचना गरिसकेको छ। वडा नं २ का अध्यक्ष डम्मरसिंह कार्कीले नगरसभाको निर्णयअनुसार नक्सापास गराउन सार्वजनिक सूचना जारी गरिएको बताए।

उक्त नगरपालिकाले हालसम्म सात हजार ५०० भवनको नक्सापास गरिसकेको छ। नगरपालिका क्षेत्रमा २२ हजारभन्दा बढी घरधुरी छन्। नक्सापास नगरी निर्माण गरिएका भवनको सङ्ख्या अधिक भएपछि नगर प्रमुख विष्टले चालु आवमा भने भवन संहिता कार्यान्वयनलाई प्राथमिकता दिए।

गत आर्थिक वर्षमा नगरपालिका कार्यालयमा ३८२ भवनका नक्सा दर्ता भएकामा २७५ को पास गरिएको थियो।
डिसी नेपाल