१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपाको सचिवालय बैठक आइतबार बस्ने

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७५, शुक्रबार १३:१०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आउँदो असोज २१ गते आइतबार बस्ने भएको छ । पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको छलफलपछि नेकपाको सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री समेत रहेका ओलीलाई भेट्न दाहाल शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । उनीहरुबीच दुई घण्टासम्म पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो । छलफलपछि असोज २१ गते सचिवालय बैठक बस्न लागेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

१२ दिने अमेरिका भ्रमणपछि बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री र पत्नी सीताको उपचार गरेर बुधबार सिंगापुरबाट फर्किएका दुई जना अध्यक्षबीच पार्टीभित्र बढेको असन्तुष्टिको बिषयमा छलफल भएको थियो ।

पछिल्लो समयमा वरिष्ठ नेता माधवकुमार नेपाल सचिवालयको निर्णयप्रति असन्तुष्ट छन् । नेपाल अफ्रिका सम्मेलनमा सहभागी हुन घाना गएका बेला असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विदेश भ्रमणमा गएका बेला कुनै निर्णय नगर्ने वचन दिएर तोडेको भन्दै नेपाल असन्तुष्ट भएका हुन् ।

त्यसपछि पूर्व एमाले समुहभित्र तिव्र विवाद देखिएको थियो । प्रधानमन्त्री ओली र नेता नेपालको पक्ष विपक्षमा सार्वजनिक रुपमा नै बिरोध र समर्थन भएको थियो ।