६ चैत्र २०८०, मंगलवार
Follow Us

लोभैलोभले जेलिएका ज्ञवाली अन्ततः कानूनको फन्दामा

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७५, शुक्रबार १५:४५

कुनै समय नेपालको बैंक तथा वित्तीय क्षेत्रमा कमल ज्ञवालीलाई आर्दशका रुपमा लिइन्थ्यो । गुल्मीको सामान्य किसान परिवारमा जन्मिएका ज्ञवालीले देशकै व्यावसायिक बैंकिङ घरानालाई टक्कर दिने हैसियत बनाए । तर ज्ञवालीलाई धन कमाउने लोभले नराम्ररी च्याप्यो ।

नेपाली उखान ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तै भयो ज्ञवालीका लागि । तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक रहनुभएका ज्ञवालीले आफैँले स्थापना गरेको बैंकलाई समस्यामा पार्ने गरी ऋण लिने वा दिने दुवै काम गर्नुभयो ।

सफलता र प्रगतिले ज्ञवालीलाई चरम महत्वाकांक्षी बनायो । जसका कारण आफैँले स्थापना गरेको बैंकको अस्तित्वसमेत मेटियोे ।

शेयर कारोवार र घरजग्गाको व्यवसायमा नराम्ररी फसेका ज्ञवालीले नागरिकको निक्षेपमाथि चलखेल गरेर आफूमात्र सकिएनन् बैंकलाई समस्या पारे । बैंकिङ क्षेत्रमा जसरी दिन दुई गुणा रात चार गुणाले प्रगति गरे, सोही रफ्तारमा उनले असफलताको नमीठो पाठ पनि पाए ।

बैंक ठगीको आरोप लागेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ज्ञवालीको खोजी गर्न थाल्यो । बैंकिङ क्षेत्रमा स्थापित भइसकेको किष्ट बैंक प्रभु विकास बैंकसँग गाभिएसँगै अस्तित्वसमेत मेटियो ।

त्यसपछि प्रभु बैंकले २०७१ साल भदौ ३० गतेदेखि ‘क’ वर्गको बैंकको रुपमा कारोवार गर्दै आएको छ । प्रहरीको अनुसन्धान र अदालतको आदेशपछि प्रभु बैंकले ज्ञवालीको नाममा रहेको रु २३ करोड बराबरको शेयर बिक्री गरिसकेको छ ।

किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीसमेतले जम्को प्रकाशन प्रालिसँग कमसल धितो लिई, धितोको अधिक मूल्याङ्कन गरी बैंकलाई स्टकको गलत विवरण पेश गरेका थिए ।

उहाँलाई बैंक ठग्ने उद्देश्यले स्वीकृतिबिना कर्जा दुरुपयोग गरेको अभियोग लागेको छ । जम्को प्रकाशन प्रालि ज्ञवालीको श्रीमती गौरी खनाल ज्ञवालीको नाममा खोलिएको संस्था हो । पाटन उच्च अदालतले गौरीलाई समेत तीन वर्ष जेल सजाय र रु छ करोड २५ लाख बिगो जरिवानाको फैसला सुनाएको थियो ।

बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई नेपाल प्रहरीले आज कैलाली र कञ्चनपुर जिल्लाको सीमानामा पर्ने मोहना नदीको पुल नजिक गड्डा चौकीबाट पक्राउ गरेको छ । बैंकिङ कसूर र कीर्ते जालसाझी मुद्दामा उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौँले कैद सजाय र जरिवाना तोकेको छ ।

बैंकको स्वीकृतिसमेत नलिई शेयरधनी एवं सञ्चालक पटकपटक परिवर्तन गरी जम्को प्रकाशन प्रालिको नाममा किष्टमा नागरिकले जम्मा गरेको निक्षेप अन्यत्र प्रयोग गरेका थिए । ऋण रकम र सोको ब्याज चुक्ता नगरी कर्जा दुरुपयोग गरेको आरोप ज्ञवालीमाथि लागेको छ ।

बैंकिङ कसूर गरेको मुद्दामा उच्च अदालत पाटनले २०७३ साल जेठ १३ गते ज्ञवालीलाई चार वर्ष कैद र रु चार करोड २६ लाख ८३ हजार ५११ जरिवाना गर्ने फैसला गरेको थियो ।

तत्कालीन किष्ट बैंक हाल प्रभु बैंकका तर्फबाट कार्यकारी अधिकृत कुमार लम्सालले ज्ञवाली विरुद्ध जाहेरी दिनुभएको थियो । ज्ञवालीलाई कीर्ते जालसाझी मुद्दामा काठमाडौँ जिल्ला अदालतले २०७४ साल जेठ चार गते रु २९ लाख ७७ हजार ३५६ जरिवाना ठहर्ने फैसला गरेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार बैंकिङ कसूरको अभियोगमा ज्ञवालीलाई आज पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता शैलेश थापाले जतिसुकै ठूलो पद र प्रतिष्ठामा रहेर अपराध गरेको भए पनि त्यो धेरै दिन नटिक्ने र कुनै न कुनै दिन कानूनको दायरामा आएरै छाड्ने बताउनुभयो ।

नेपालको इतिहासमै ठूलो बैंकिङ कसूरको अभियोग लागेका ज्ञवालीलाई पक्राउ गरेर प्रहरीले ठूलो सफलता हात पारेको छ । प्रवक्ता थापा भन्नुहुन्छ, “प्रहरीले सबै खालको साधन र स्रोतको प्रयोग गर्न सक्दा जस्तोसुकै अपराधीलाई पनि पक्राउ गर्न सक्छ भन्ने पुनःपुष्टि गरेको छ ।”

लामो समयदेखिको अनुसन्धानले सफलता पाएको जानकारी दिँदै उहाँले अदालतको आदेशअनुसार कारवाही प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

छिट्टै सफलताको सिंढी चढेर सोही रफ्तारमा ओरोलो लागेका ज्ञवालीकोे नकारात्मक नजिरले अन्य बैंकरलाई पनि झस्काइ रहनेछ ।
–रमेश लम्साल