१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालका यी १० अनुपम ठाँउ : नेपाल आउँदा फुर्सद भए घुम्न नबिर्सनु होला

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार ०५:३७

काठमांडौ । हाम्रो देश नेपाल भौगोलिक, प्राकृतिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण भएको देश हो । सर्वोच्च शिखर सगरमाथादेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म सबै हाम्रै देशमा रहेको छ । विदेशमा रहनुभएका नेपाली दाजुभाइ मातृभूमि फर्कदा अथवा दशैं र तिहारको विदाको सदुपयोग गर्दै नेपालका प्राकृतिक स्थलहरुको घुमघाम गर्न सकिन्छ । आउनुहोस् नेपालको घुम्नै पर्ने स्थानहरुको चर्चा गरौं-

सगरमाथा बेस क्याम्प
सबैभन्दा अग्लो शिखर सगरमाथा आरोहण गर्ने सौभाग्य सबैले पाउँदैनन् तर सगरमाथा चढ्न नसकेपनि सगरमाथा चढेको झल्को दिने गरि सगरमाथा बेस क्याम्प सम्म भने ट्रेकिङ गर्न सकिन्छ । यो ट्रेकिङ गर्ने हरेकले आफै सगरमाथा चढेको अनुभव गर्न सक्छन् ।

१६ दिन लामो ट्रेकमा तपाईले सुन्दर लालिगुराँसको जंगलहरु, ढुंगाको पर्खाल लगाइएको सुन्दर शेर्पा गाँउहरुमा पुग्न सकिन्छ । शेर्पाहरुको यो भूमिबाट नाम्चे, पोर्त्से गाँउ लगायतका सुन्दर गाँउ हुँदै अगाडी बढ्दा जादुमयी एभरेष्ट र नुप्त्से हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ । सगरमाथा बेस क्याम्प पाँच हजार तीन सय ६४ मिटरको उचाईमा रहेको छ ।

अन्नपूर्ण बेस क्याम्प
अन्नपूर्ण हिमश्रृंखला सहितको उच्च भौगोलिक दृश्यहरुका लागि अन्नपूर्ण बेसक्याम्प पुग्नुपर्ने हुन्छ । तह–तह मिलेका धानका खेतहरु मनमोहक लालिगुँरासको जंगललहरु र अन्नपूर्ण हिमश्रृंखलाले अन्नपूर्ण बेस क्याम्प लोकप्रिय ट्रेकिङ गन्तव्य बनाएको छ । यो ट्रेक मा ७ देखि ११ दिन लाग्ने गर्छ ट्रेकिङ गर्नेहरुको हिड्न सक्ने क्षमतामा भर पर्छ । एबिसी ट्रेकिङ वर्षभरि नै गर्न सकिन्छ तर हिँउदमा भने कहिलेकाँही बेस क्याम्प हिँउको कारणले बन्द पनि हुन् सक्छ ।

उपल्लो मुस्ताङ
उपल्लो मुस्ताङ ट्रेकलाई मुस्ताङको लोकप्रिय क्षेत्र हो । पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र सँस्कृति र भौगोलिक दृश्यको कारणले पनि तिब्बत जस्तै लाग्छ । आश्चर्यजनक खालका चट्टानहरुले घेरिएको र मरुभुमी जस्तो देखिने भौगोलिक दृश्यको बिचमा गाँउहरु र त्यहाँका हरिया खेतहरुले मरुभूमिको बिचमा बगैँचा जस्तो देखिन्छ ।

तिलिचो ताल
तिलिचो ताल विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको ताल मानिन्छ । ५,००० मिटरको उचाइमा अवस्थित यो ताल नेपालको मनाङमा पर्छ । अन्नपुर्ण पदयात्रा गर्ने सबैले थोरोङ्ग्ला पास गर्दा यो ताल भएर जाने गर्छन् । मनाङ र तिलिचो तालको बिचमा धेरै लजहरु खुलेका छन् । तालको भ्रमण गर्नु र टे«किङ गर्नु एक अनुपम अनुभव हुन्छ । पदयात्रा मन पराउनेहरुको लागि धेरै नै रोमाञ्चक हुनेछ ।

रारा ताल
रारा ताल नेपालको सबैभन्दा ठूलो ताल हो जुन समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा तालले १० दशमलब दुई स्क्वायर किलोमिटर क्षेत्रफल ओगटेको छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जले घेरिएको छ । यो ताल ट्रेकिङ मनपराउनेहरुको लागि धेरै नै उपयुक्त गन्तव्य हो तर रुट भने धेरै नै असजिलो रहेको छ । जुम्लासम्म प्लेनमा वा गाडीमा गएपछि टे«किङ सुरु हुन्छ । पहाडै पहाडको असजिलो बाटोमा हिँडेर विभिन्न गाँउहरु पार गर्दै गएपछि रारा तालको किनारमा पुगिन्छ ।

खप्तड क्षेत्र
खप्तड क्षेत्र नेपालको सुदुर पश्चिम क्षेत्रमा अवस्थित एक संरक्षित क्षेत्र हो । धार्मिक व्यक्तित्व खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ र यसले २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । यो भौगोलिक परिदृश्यमा हरियाली युक्त हल्का भिरालो चौरहरु खोला नाला र घासेँ मैदान रहेका छन् ।
यसलाई नेपालको सबैभन्दा सुन्दर परिदृश्यको रुपमा लिइन्छ । यहाँ धेरै खालका जीव जनावरहरु चराचुरुङ्गी र वनस्पतीहरु पाइन्छन् । यो स्थानलाई नेपालको भर्जिनल्याण्ड पनि भनिन्छ किनभने यो स्थानको प्राकृतिक सौन्दर्यलाई मानिसले अहिलेसम्म चलाउन पाएका छैनन् । यो यस्तो ठाँउ हो जहाँ मानिसले शान्ती र एकान्त महसुस गर्न सक्छन् ।

पाँचपोखरी
पाँचपोखरी जुगल हिमालको काखमा रहेको पाँचवटा पोखरी भएको स्थान हो जसलाई धेरै नै धार्मिक महत्वपूर्ण मानिन्छ । पाँच पोखरीसम्मको लागि १२ दिनको ट्रेकिङ यात्राबाट पुग्न सकिन्छ जहाँ हिमाली सौन्दर्यपान गर्दै विभिन्न गाँउहरु देख्न सकिन्छ । यो ट्रेकिङमा हामीले सुन्दर भुदृश्यको साथसाथै धनी सँस्कृति र जैविक विविधताको अनुभव गर्न सकिन्छ । हामी यी उच्च भौगोलिक अवस्थाको पोखरीको यात्रा बौद्ध धर्म र हिन्दू धर्म दुवैमा मानिसहरुको लागि पवित्र मानिन्छ ।

गोसाँइकुण्ड ताल
नेपालको लाङटाङ राष्ट्रिय निकुञ्जमा अवस्थित यो ताल ४ हजार ३ सय ८० मिटर उचाइमा रसूवा जिल्लामा रहेको छ । गोसाँइकुण्ड एक साहसिक यात्रा गन्तव्य हुन सक्छ जसलाई हिन्दू धर्मका मानिसहरुले धेरै नै श्रद्धापूर्वक लिने गर्छन् । यो एक स्वच्छ र कञ्चन पानी भएको ताल हो जहाँ सुन्दर दृश्यहरुले घेरिएको छ । धुन्चे हेलम्बु ट्रेकिङ रुटको लागि महत्वपूर्ण स्थान मानिन्छ । यो ट्रेकले लाङटाङ उपत्यकालाई जोड्ने गर्छ । यो ट्रेकिङ यात्रामा लज, टिहाउस होटलहरुको सुविधा रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज
यो नेपालको सबैभन्दा पहिलो राष्ट्रिय निकुञ्जको रुपमा सन् १९७३ मा स्थापना भएको राष्ट्रिय निकुुन्ज हो । सन् १९८४ मा विश्व सम्पदा सूचीमा परेको यो राष्ट्रिय निकुञ्जले ९३२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यको रुपमा चिनिने गर्छ । विशेषगरी एक सिंगे गैडा र हात्तिको लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी र्याफ्टिको लागि प्रख्यात छ ।

पुन हिल
पुन हिल अन्नपुर्ण हिमश्रृंखलाको भ्यु पोइन्टको रुपमा पनि लिइन्छ । घोरेपानी र पुनहिल ट्रेकलाई एक रगिंन यात्राको रुपमा लिन सकिन्छ । अन्नपूर्ण क्षेत्रबाट सुरु हुने यो यात्रा पोखरा पुगेर टुङ्गिन्छ । पुन हिलको बाटोमा जहाँबाट पनि मनै लोभ्याउने सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । नेपाल घुम्ने सोचमा हुनुहुन्छ भने पुनहिलको ट्रेकिङ गर्न सबैभन्दा उपयुक्त हुन्छ ।