१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चन्द्रागिरि हिल्सलाई उत्कृष्ट गन्तव्य पुरस्कार

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार ११:१५

काठमाडौं । नेपालको चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो ।

चौधौँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान गर्नुभयो ।

भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ ।

चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र आकर्षक पर्यटकीय गन्तव्य बनेकाले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त पब्लिकेसनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवा क्षेत्रहरुलाई पुरस्कृत गरिएको थियो ।

काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको सङ्ख्यामा आउने भारतीय पर्यटक चन्द्रागिरिमा भालेश्वर महादेवको दर्शनका लागि पनि जाने गरेका उक्त प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाहले जानकारी दिनुभयो ।

सो पुरस्कार प्राप्त गरेपछि उक्त प्रालिका अध्यक्ष ढकालले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमा पनि पहिचान र प्रचार हुन पुगेको बताउँदै यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले चन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिकाजस्ता अरु पनि कैयौँ हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि पनि आधार बन्नुपर्छ भन्ने सन्देश मिलेको बताउनुभयो ।

नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केबल कार निर्माण गरी २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन दुई हजारदेखि २२ सयको सङ्ख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

चन्द्रागिरि हिल्स प्रालिका जनसम्पर्क प्रमुख राजु पौडेलका अनुसार उक्त हिल्समा केबल कार चढेर गतवर्षसम्म करिब साढे सात लाख पर्यटक पुगेका थिए ।