८ बैशाख २०८१, शनिबार
Follow Us

११ दिने शिशुको हत्या गरेको आरोपमा रश्मी पक्राउ

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार १४:५१

पोखरा । सिरानचोक गाउँपालिका–२ थालाजुङकी १७ वर्षकी रश्मी गुरुङलाई प्रहरीले ११ दिने शिशुको हत्या गरेको आरोपमा पक्राउ गर्यो । गत भर्दौ ८ गते उनले आफ्नै ११ दिने बच्चालाई बारीमा मारेर गाडेकी थिईन् ।

थालाजुङ खामबारीका सबल भण्डारी र उनकी श्रीमती रश्मी गुरुङकी ११ दिनको छोरी टीका भण्डारीको न्वारान थियो । न्वारानको दिन राति रश्मी छोरी लिएर सासु भएकै कोठामा सुतिन् ।

राति १२ बजेतिर एक्कासी शिशु रुन थाल्यो । प्रहरीका अनुसार रश्मीले बच्चालाई फकाउन काखमा लिएर कोठाको भित्र बाहिर गरिरहिन् । आमाको काखमा भएकाले घरका अरु सदस्यले खासै चासो दिएनन् ।

बाहिर पानी परिरहेको थियो । त्यही बेला रश्मीले बच्चालाई घरनजिकैको बासँको झ्याङमा छाडेर घर आइन् । उनी केहीबेरपछि फेरि बाँसको झ्याङमा पुगिन् । पानीले पुरै भिजेको बच्चाको शरीर चिसो भइसकेको थियो ।

त्यसपछि आफूले बारीमा खाल्डो खनेर बच्चालाई पुरेको र घरमा आएर छोरी हराएको भन्दै हारगुहार गरेको बयान रश्मीले प्रहरीसामू दिएकी छन् ।