१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउ’

नेपालब्रिटेन संवाददाता
२० आश्विन २०७५, शनिबार १५:०१

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा नेपाल मानव अधिकार संगठनले निर्मलाका मामा र नेपाली सेनालाई पनि अनुसन्धानको घेरामा ल्याउन माग गरेको छ ।

घटनाको स्थलगत अध्ययनपछि प्रतिवेदन सार्वजनिक गर्दै संगठनले पन्त हत्याबारे प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, रोशनी बम र उनकी दिदी बबितासँगै निर्मलाका मामा तीर्थराज र नजिकै रहेको सेनाको ब्यारेकलाई घटनाबारे जानकारी रहेको दाबी गरेको हो ।

संगठनले उनीहरुमाथि ठोस र प्रभावकारी अनुसन्धान नभएको, घटनाको प्रमाणहरु नष्ट गरिएको, निर्दोषलाई यातना दिइएको र घटनाको अनुसन्धान दबाउन प्रहरी प्रशासन नै लागिपरेको निष्कर्ष सुनाएको छ ।

त्यस्तै, पन्तको बलात्कार तथा हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रर्दशन गरिएको हो ।

निर्मलाका निम्ति न्याय अभियान, बलात्कारविरुद्ध राष्ट्रिय अभियान र विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुसहितको प्रर्दशनमा हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग पनि गरिएको छ ।
उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउन पहल नगरेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रर्दशनकारीहरुले सरकार बलात्कारी सामू लाचार भएको दावी गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा आएर कोणसभामा परीणाम भएको थियो । प्रदर्शनमा विभिन्न दलमा आवद्ध तथा स्वतन्त्र नागरिकहरु सहभागी थिए ।

गत साउन १० गते साथीको घरमा गएकी निर्मला ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । तर धेरैथरि अनुसन्धान टोली बने पनि अपराधी पत्ता लाग्न सकेको छैन ।