१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक भारतीयसहित तीन जना पक्राउ

sarusaru
२१ आश्विन २०७५, आईतवार ०४:१७

धनुषा – नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् ।

पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलाशी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी यसपूर्व नक्कली नागरिकता बनाउने कार्यमा सङ्लग्न रहे नरहेकाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महिलाको नग्न फोटो सार्वजनिक गर्ने पक्राउ

फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कामतले फेसबुकको फेक आइडी बनाएर त्यसमार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए । च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले । महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएको बुझिएको छ ।

पीडित महिलाले कामत विरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताउनुभयो । कामत विरुद्ध साइबर क्राइमअन्र्तगत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

अघिल्लो साता मात्रै धनुषा प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका–३ का ३४ वर्षीय ब्रह्मदेव पण्डितलाई अवैद्य रुपमा इन्टरनेट सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो ।
रासस