६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएनएद्वारा डन्डीबियो खेल आयोजना

नेपालब्रिटेन संवाददाता
२१ आश्विन २०७५, आईतवार ०८:४५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पहिलो पटक आयोजना गरेको प्रेसिडेन्शियल अवार्ड २०१८ अन्तर्गत आयोजित अन्तर कलेज स्तरीय डन्डीबियो प्रतियोगिता राजधानीमा सुरु भएको छ । खेलको संघका अध्यक्ष भवन भट्ट तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले आइतबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय युवा संयोजक सुदन थापाले प्रतियोगिता मार्फत नेपालमा डन्डीबियो खेलको प्रवर्द्धनमा उल्लेखनीय सहयोग पुग्ने आशा व्यक्त गर्नु भयो । उद्घाटन समारोहको अध्यक्षता गर्दै संघका अध्यक्ष भवन भट्टले परिषदको निर्णय स्वागत योग्य रहेको भन्दै संघको टोली आठौँ राष्ट्रिय खेलकुदमा सहभागी हुने र नेपाली खेलकुदको विकासमा गैरआवासीय नेपाली आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताउनु भएको छ ।

संघका प्रवक्ता भूषण घिमिरेले प्रतियोगिताले गैरआवासीय नेपालीहरुलाई आफ्नो बाल्यकाल सम्झना आएको बताउनुभयो । नेपाल डन्डीबियो संघका कार्यबाहक अध्यक्ष मोतीराम फुयालले गैरआवासीय नेपाली संघले डन्डीबियो खेललाई सम्झिएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस खेललाई जोगाइराख्न र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

परिषद्का सदस्य सचिव केशब कुमार बिष्टले आगामी आठौँ राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको टोलीलाई सहभागी गराउने सम्बन्धमा औपचारिक निर्णय भएको जानकारी गराउनुभयो । कार्यक्रममा गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समिति संयोजक श्री गोविन्द प्रसाद गौतम, गैरआवासीय नेपाली संघ मध्य पुर्व क्षेत्रका उप क्षेत्रीय संयोजक प्रविन गुरुङ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य मनोज गोर्खाली लगायत नेपाल डन्डीबियो संघका प्रतिनिधिहरुको सहभागिता थियो ।

कुल १६ कलेज सहभागी खेलमा ६ कलेज अन्तिम प्रतिस्पर्धामा छनौट भएका छन् । रिम्स कलेज, ग्रिनफिल्ड कलेज, एजीएम कलेज, न्युटन कलेज, नाज्रेथ कलेज तथा कुटुम्ब कलेज यो खेलमा सहभागी छन् । नेपाल डन्डीबियो संघको प्राविधिक संयोजनमा भएको खेलमा प्रथम हुने टिमले पचास हजार, द्वित्तीय हुनेले तीस हजार तथा तृतीय हुनेले बीस हजार नगद प्राप्त गर्नुहुनेछ । प्रतियोगिता अहिले जारी छ । गैरआवासीय नेपाली दिवसका अवसरका संघले साताव्यापी कार्यक्रम आयोजना गरिरहेको छ ।