१२ बैशाख २०८१, बुधबार
Follow Us

निर्मला हत्या प्रकरण : लुगा पखाल्ने महिलासहित दुई प्रहरी निलम्वित

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७५, सोमबार ०९:०७

काठमाडौं । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । पछिल्लो पटक दुई जनाको निलम्बनसँगै यो प्रकरणमा निलम्बनमा पर्ने प्रहरीको संख्या आठ पुगेको छ ।

गृह मन्त्रालयले निर्मलाको बलात्कारपछिको हत्या घटनालाई लिएर बनाएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्टै सोमबार प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरेको हो । प्रहरी जवान चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार सई धामी र जवान चाँदनीको व्यहार शंकास्पद देखिएकाले निलम्बन गरिएको हो ।

यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।