७ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकार सुरक्षा कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न असफल : कांग्रेस

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७५, सोमबार १३:५९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न, मुल्यबृद्धि र भ्रष्टाचार नियन्त्रण गर्न असफल भएको आरोप लगाएको छ । आइतबारको बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै कांग्रेसले आम नागरिकको मुख्य चासो बनेको शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकार असफल बनेको तथा सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्त गर्ने जनताको अपेक्षालाई सरकारले पुरा गर्न नसकेको ठहर गरेको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगीसक्दा पनि कारवाहीको दायरामा नल्याउनु दुःखद भन्दै यसले वर्तमान सरकार विषयको गम्भीर्यताप्रति असंवेदनशील र असक्षम प्रमाणित भएको उल्लेख गरेको छ ।

‘चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा अचाक्ली वृद्धि हुँदा सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले त्यसमा हस्तक्षेप गर्नु त परै जाओस’, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको छ ।’

काग्रेसले नेपाली जनतामाथि बढ्दै गएको पीडाप्रति गम्भीर हुँदै त्यसविरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय गरेको छ ।

कांग्रेसले वाइड वडी जहाज खरीद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भइरहेकाले छानविन गरी जनसमक्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

कांग्रेसले बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने भएपनि चिनियाँ कम्पनीलाई सुम्पेकोमा आश्चर्य व्यक्त गरेको छ । उसले स्वदेशी लगानीमै उक्त आयोजना निर्माण गर्न आफ्नो नेतृत्वको सरकारका पालामा सुरुवात समेत भएको भन्दै अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको जनाएको छ ।

‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’ कांग्रेसले भनेको छ ।

कांग्रेस बैठकले बुढी गण्डकी परियोजनाबारेमा सरकारले लिएको अपरिपक्व निर्णय भन्दै यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गरेको छ ।

कांग्रेसले निजगढमा अन्तर्रा्िष्ट्रय विमानस्थल निर्माणप्रति पनि चासो देखाएको छ । उसले एक दशक पुरानो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी भन्दै त्यसका लागि आवश्यक पर्ने जग्गा प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउन ढिलाई नगर्न सरकारलाई सुझाव दिएको छ ।

तर विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति जनाएको छ । ‘आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन कांग्रेस सरकारलाई अपील गर्दछ’ कांग्रेसले भनेको छ ।