११ बैशाख २०८१, मंगलवार
Follow Us

जुवा अखडाको घटना रहस्यमय, शव बुझ्न मानेनन् परिवारले

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७५, सोमबार १४:०५

काठमाडौं । नेपाल प्रहरीमा रहेका लाइन अधिकृतहरु नै लापरबाही र भ्रष्टाचारमा लिप्त हुन थालेपछि प्रहरी संगठनको अवस्था के होला ? एक पछि अर्को गर्दै संगठनमा कालो धब्बा लाग्दै गयो भने संसारमै कहलिएको संगठनको साख कतिन्जेल टिक्ला ?

यस्तै यस्तै चिन्तामा छन् नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल । लामो समयदेखि विवादमा रहेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख (डीएसपी) श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ गरेको कुराले चिन्तित खनालले गत शनिबार मातहतका अधिकृतहरुलाई सचेत रहन कडा निर्देशन दिएका छन् ।

कार्यालयमै सेवाग्राहीसँग डेढ लाख घुस रकम लिएपछि बौद्धका डीएसपी राईलाई अख्तियार टोलीले साँझ साढे ८ बजे घुस रकमसहित नियन्त्रण लिएको थियो । एक सेवाग्राहीसँग दुई दिनदेखि बार्गेनिङ गरिरहेका राईलाई ठेगान लगाउन सेवाग्राही अख्त्यिारको शरणमा पुगेका थिए ।

कञ्चनपुरमा निर्मला पन्तको बलात्कार तथा हत्या भएपछि मातहतका प्रहरीलाई चुस्त दुरुस्त राख्न नसकेको आरोप खेपिरहेका आईजीपी खनालको नेतृत्वमै सरुवा भएका डीएसपी राई अख्तियारको फन्दामा परेपछि अर्को तनाव आएको थियो ।

विवादित भए पनि गृहसचिव प्रेमकुमार राईको जोडबलकै कारण उनलाई बौद्ध वृत्त पठाइएको थियो । शुक्रबार साँझ मात्रै उनकै कार्यक्षेत्र मूलपानीमा प्रहरीको लखेटाइमा परी दुई नागरिक सरोज घले र सानुलाल तामाङको ज्यान गएको छ ।

जुवा अखडामा महानगरीय प्रहरी परिसरको टोलीले छापा मार्दा भाग्ने क्रममा उनीहरुको मृत्यु भएको दाबी प्रहरीले गरेको छ । भाग्ने क्रममा झ्यालबाट हामफालेर उनीहरुको मृत्यु भएको प्रहरीको दाबी भए पनि यथार्थ कुरा बाहिर आउन सकेको छैन ।

मृतक सानुलालका दाजु प्रेम तामाङले घटनामा प्रहरी नियतमाथि नै प्रश्न उठाएका छन् । उनले भनेका छन्, प्रहरीले तीन तलामाथिबाट हामफाल्दा घटना भएको भनेको छ । तर, त्यसो हो भने जुवा खेलाइएको कोठामा कहाँबाट रगत आयो ?

शनिबार दिउँसो घटना भएको घरमा जाँदा कोठाभित्र दराजको ह्यान्डल भाँच्चिएको भेटिएको बताउँदै भनेका छन्, घटनास्थल हेर्दा कोठामै कुटाकुट भएको जस्तो देखिन्छ । तीन तलाबाट झरेको भनेको छ, तर टाउकोमा मात्र चोट छ ।

त्यत्रो माथिबाट झर्दा अन्य ठाउँमा पनि चोट लाग्नु पर्ने हो, उनले प्रश्न गरे, तीन तलामाथिबाट हामफाल्ने मान्छेको कञ्चटमा मात्र चोट लाग्छ ? उनले घटनाको सत्य, तथ्य विवरण बाहिर नआएसम्म भाईको शव नबुझ्ने अडान लिएका छन् ।

जुवा खेल्नेहरुले प्रहरीको खेदाइमा परेर ज्यान गुमाउनुपर्ने, तर बलात्कारीलाई उम्काउन प्रहरी स्वयं नै प्रमाण नष्ट गर्न लागिपर्नुले आईजीपी खनाल थप बद्नाम भएका छन् । उक्त घटना काठमाडौं परिसरका डीएसपी होविन्द्र बोगटीको लापरवाहीका कारण भएकोमा विवाद रहेन ।

बसन्त लामाको सहयोगीका रुपमा काठमाडौं परिसर आएका बोगटी टोलीले घरभित्र छापा मार्दा माथिल्लो तलामा जाने भर्याङमा प्रहरी नबस्नु तथा घरभित्र रहेका जुवाडेलाई घेराबन्दी गर्नुको सट्टा अनावश्यक कुटपिट गर्न थालिनु रहस्यमय भएको खबर तरुण साप्ताहिकले लेखेको छ । ।

कुटपिटको क्रममा मारिएपछि झ्यालबाट फालिएको हुनसक्ने अनुमान धेरैले गरेका छन् । स्थानीय प्रहरी बौद्ध, मूलपानी र काँडाघारीको कुनै पनि टोलीलाई जानकारी नदिई पुगेको बोगटी टोलीले जुवा अखडा कब्जा गर्न खोजेको थियो । ठूलो खाल रहे पनि जुवामा पैसा भने चार लाख मात्रै बरामद भएको छ ।

जुवा खालमा छापा मार्नु भनेको छापा मार्ने प्रहरीका लागि दसैं आउनु बराबर नै हो । जुवाडेलाई आफ्नो रकम यति थियो भनेर कहिल्यै नभन्ने र बरामद भएको रकम पनि जुवाडेलाई फिर्ता गर्नु नपर्ने भएकाले प्रहरीहरु छापा मार्न हौसने गरेका छन् ।

प्रहरी सो घरमा पुगेर जुवाडेमाथि निर्घात कुटपिट गरेको घरभित्रको रगाताम्य स्थितिले बताएको छ भने दराजको ह्यान्डिल पनि भाँचिएको छ । पहिलो तलामा रहेको च्यानल गेट काटेर भित्र पुगेको प्रहरीले बैठक कोठामा जुवा खेलिरहेकाहरुलाई नियन्त्रणमा लिन लाठीचार्ज मात्रै गरेन, सबैलाई पेस्तोलले उडाइदिने धम्की पनि दियो ।

तर, जुवा खेलाउने मुख्य नाइके हेमा गुरुङ भने त्यहीबाट फरार भइन् । उनी कसरी उम्कन सकिन् ? त्यो अझ रहस्यपूर्ण छ । मुख्य नाइकेलाई नै नियन्त्रणमा लिन नसक्नु प्रहरीको कमजोरी मात्रै होइन, त्यसमा सादा पोसाकको टोलीसँग हेमाको चिनजान हुनसक्ने प्रशस्त आधार र शंका गर्ने ठाउँ रहेको बताइन्छ ।

सुरुमा केही प्रहरी भित्र छिरे पनि उनीहरुले कसैलाई बाहि र ननिस्कन भनेका थिएनन् । घरधनी हेमाका आफन्त हुन् भने दुवैको पुख्र्यौली घर दोलखा नै हो । घटनास्थल हेर्दा माथिबाट हामफाल्दा जस्तापाताको छानो र त्यहाँ रहेको फलामको डन्डीमा ठोक्किएर मात्रै तल बजारिने ठाउँ देखिन्छ ।

केही जुवाडेहरु छतमाथि रहेको पानीट्यांकी र सँगै जोडिएको भाइको घरबाट समेत भागेको प्रहरीको अनुमान छ । त्यस्तै, घाइते एकजना भने बी एन्ड बी अस्पतालबाट भागेको प्रहरीले दाबी गरेको छ, जुन विश्वसनीय लाग्दैन ।

छापा मार्न जाँदा सादा पोसाकमा खटिएको परिसरका डीएसपी होविन्द्र बोगटीले स्थानीय प्रहरीलाई जानकारी दिएका थिएनन् । नागरिकको मृत्यु भएपछि घटनास्थलमा राती नै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपाने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामा र एसपी अशोक सिंहसमेत पुगेका थिए ।

सो जुवा खालबाट पक्राउ पर्नेमा सिन्धुपाल्चोकका दीपक तामाङ, ग्यासन लामा, नेमदोर्जे तामाङ, सुब्बा शेर्पा, विष्णु श्रेष्ठ, श्रीकाजी तामाङ, रवि थिङ, मंगले तामाङ, फुर्वा शेर्पा, दोर्जे घिसिङ रहेका छन् । त्यस्तै, मकवानपुरका पवन रानामगर, शर्मिला खड्का, कुवेरसिंह थिङ पक्राउ परेका छन् ।

दोलखाका डेण्डु शेर्पा, तेण्डु शेर्पा, काठमाडौं चाबहिलका लाक्पा शेर्पा, सर्लाहीका उमेश लामा, रामेछापका राजकुमार बुढाथोकी र बुद्ध तामाङ, ललितपुरका केशरबहादुर गोले, धादिङका कष्ण विक, रेशम विश्वकर्मा, कृष्णबहादुर सुनार रहेका छन् ।

प्रहरीले जुवा खालबाट कौडा, तास, मदिराका बोतलसहित खुकुरी र तरबारसमेत बरामद गरेको छ । जुवा खालबाट चार लाख ५८ हजार नगद बरामद गरिएको छ । विगत लामो समयदेखि हेमालगायत चार जना महिलाहरुको सक्रियतामा सञ्चालित मोबाइल जुवाघर सञ्चालनमा डीएसपी राईकै संरक्षणमा रहेको बुझिएको छ ।

बौद्ध, नयाँ बस्ती, जोरपार्टी, गोकर्ण, मूलपानीलगायतका विभिन्न क्षेत्रमा उनीहरुले दिनदिनै फरक फरक घरमा जुवा खेलाउँदै आएका थिए । हरेक दिन नयाँ नयाँ खेलाडीहरु सो जुवा खालमा आउने गरेको स्थानीयले बताएका छन् ।