६ चैत्र २०८०, मंगलवार
Follow Us

नेपालको लगातार चौथो जित

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७५, मंगलवार ०६:२८

काठमाडौं । आइसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । भुटानलाई १ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले जित हात पारेको हो । समूह ‘बी’ बाट खेलेको नेपालको यो लगातार चौथो जित हो ।

भुटानलार्इ सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट तथा बसन्त रेग्मीले २ विकेट लिए । यस्तै दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १-१ विकेट लिए । नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमै सबै विकेट गुमाएर ३३ रनमै अलआउट भएको हो ।

भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बनाएका थिए । उनले १९ बलमा २ चौका समेत हानेका थिए तर अरु ब्याट्सम्यान भने नेपाली बलरसामु टिक्न सकेनन् । भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमै पेभिलियन फर्किए । भुटानका लागि सन्जिभन गुरुङले ६, रन्जुङ मिक्यो दोर्जीले ५ र रमेश लिम्बुले नटआउट ४ रन बनाए ।

टस हारेर ब्याटिङ गरेको नेपालले भुटानसामु १५१ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो । मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा नेपालले ४ विकेटको क्षतिमा १५० रन बनाएको हो ।

पहिलो बलमै ओपनर बिनोद भण्डारीलाई गुमाएको नेपालले त्यसयता सशक्त प्रदर्शन गरेको थियो । नेपालका लागि अर्का ओपनर प्रदीप ऐरीले ७५ रनको शानदार अविजित पारी खेले । उनले ६८ बलमा २ छक्का र ६ चौका पहार गरे । प्रदीपले दोस्रो विकेटका लागि अनिलकुमार साहसँग मिलेर ६६ रनको साझेदारी गरे ।

अनिल १२औं ओभरमा व्यक्तिगत २७ रनमा आउट भएपछि आएका आरिफ शेखसँग उनले ३३ रनको साझेदारी गरे । आरिफले १३ रन बनाए भने उनी आउट भएपछि आएका दीपेन्द्र सिंह ऐरीले १५ रन बनाए । ५ बलमा ११ रन जोडेका करण केसी नटआउट रहे ।

नेपालले छनौट खेलमा म्यानमार, मलेसिया र थाइल्यान्डलाई यसअघि हराइसकेको छ । अब बाँकी खेलमा नेपालले २४ गते चीनसँग तथा २६ गते सिङ्गापुरसँग खेल्ने कार्यतालिका छ ।