१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पूर्वराजा ज्ञानेन्द्र सपरिवार भारत भ्रमणमा

नेपालब्रिटेन संवाददाता
२३ आश्विन २०७५, मंगलवार ०७:०३

काठमाडौं । थाइल्यान्ड हुँदै श्रीलंका भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र परिवार भारतको धार्मिक भ्रमणमा सहभागी हुन भारतको महाराष्ट्र मुम्बई जाने कार्यक्रम तय भएको छ । उनी मुम्बईको वाधलापाडास्थित पद्मश्री सिद्धयोगपीठ गुरुधाममा घटस्थापना अर्थात् असोज २४ देखि कातिक १ गतेसम्म आयोजना हुने लक्ष्यचण्डी महायज्ञको प्रमुख अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

भ्रमणमा उनीसँगै पूर्वरानी कोमल, बुहारी हिमानी, प्रभु शमशेरसहितका परिवारले २८ गते मुम्बईको सो कार्यक्रममा प्रमुख अथितिका रुपमा सहभागिता हुनेछन्। पूर्वराजा ज्ञानेन्द्र २६ गते नै मुम्बई पुग्ने कार्यक्रम तय भएको छ । राहुलेश्वरानन्द महाराजले आयोजना गरेको महायज्ञमा सहभागी हुन नेपालको तर्फबाट राजावादी संघ संगठनका १ हजार प्रतिनिधि समेत भारत जाने भएका छन् । आयोजक समितिले नेपालबाट हजारौं धार्मिक कार्यकर्ता जुटाउन आग्रह गरेपछि शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितको समूह लागिपरेका छन् ।

बस्नेतलाई सहभागी जुटाउने जिम्मा दिइएको छ । शिवसेना नेपालका सल्लाहकारसमेत रहेका राहुलेश्वरानन्दले करिब एक महिनाअघि ज्ञानेन्द्रलाई भेटेर प्रमुख अतिथिको निम्तो दिएका थिए। सोही निम्तो मान्न पूर्वराजाका परिवार भारत जान लागेका हुन् ।

शिवसेना नेपालले नेपालीहरुको सहभागिताका लागि नेपालका विभिन्न स्थानबाट भारतको मुम्बईसम्म लैजाने र कार्यक्रममा सहभागिता गराउने जिम्मा लिएको छ । शिवसेना नेपाल मुम्बई सम्पर्क प्रमुख केवीजंग कुँवरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न र कार्यक्रममा सहभागी हुन सार्वजनिक अपिल गरेका छन् । त्यसका लागि अध्यक्ष बस्नेतसहितको टोली भारत पुगिसकेको छ । नेपालबाट जाने एक हजार जनाको बन्दोबस्त शिवसेना नेपालले गर्नेछ ।

युवा विश्व हिन्दु महासंघका अध्यक्ष राजन महर्जन, विश्वहिन्दु महासंघका पदाधिकारी, राप्रपाका दोस्रो पुस्ताका केही नेता कार्यकर्ता समेत मुम्बई जाने कार्यक्रम तय भएको छ । ‘कोही गैसकेका छन् ,कोही भने जाने क्रममा रहेका छन’ युवा विश्वहिन्दु महासंघका अध्यक्ष महर्जनले भने । उनका अनुसार नेपालको शिव सेनाले नेपालीलाई मुम्बइको कार्यक्रममा सहभागि गराउन जिम्मेवारी लिएको छ ।

एक हजार एक सय ब्राम्हणले चन्डी पाठ गर्ने कार्यक्रम रहेको यज्ञमा एक हजार यज्ञ कुण्ड रहनेछन् । आयोजकले नेपालका विभिन्न धार्मिक निकायका प्रमुखलाई निम्तो दिएको छ । यज्ञमा दादा गुरुदेव स्वामी सच्चिदानन्द, परमहंस स्वामी निखिलेश्वरानन्दलगायतका भारतका चर्चित गुरुहरुको सहभागिता रहेको छ । कार्यक्रममा भारतमा बस्ने अधिकांश नेपालीलाई निम्तो दिइएको छ । २६ गते महायज्ञको कार्यक्रममा सहभागी भएपछि पुर्वराजाले नेपालबाट गएका नेपालीलाई भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन तीनैवटा राप्रपाका दोस्रो दर्जाका नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । शिवसेना नेपालले भारतमा रहेका नेपालीले सबै नेपालीलाई यज्ञ स्थलमा आउन व्यापक प्रचार गरेको छ । यज्ञको कार्यक्रम सकेलगत्तै ज्ञानेन्द्र परिवार केही दिनको दिल्ली बसाइपछि नेपाल फर्कने कार्यक्रम रहेको छ ।

भारतभ्रमण सकेलगत्तै फूलपातिका दिन नेपाल फर्कने कार्यक्रम रहेको छ । नेपाल फर्केलगत्तै महाअष्टमीको दिन पूर्वराजाका परिवार शक्तिपीठमा पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।