७ बैशाख २०८१, शुक्रबार
Follow Us

१५ वर्षदेखि मानिसलाई बेहोस् बनाइ गर्दै आएका थिए लुटपाट, प्रहरीले गर्यो गिरोह पक्राउ

sarusaru
२४ आश्विन २०७५, बुधबार ०४:३६

चितवन । विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पक्राउ गरेको छ।

पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–६ का ५६ वर्षीय कालु परियार र मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बसोबास गर्दै आएका ४९ वर्षीय हरि गोले रहेका छन्। परियार १५ वर्षदेखि निरन्तर चोरी कार्यमा संलग्न रहेको खुलेको छ। उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो। उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौँरले जानकारी दिए।

उनीहरु सुनारको घरमा अमिलो बेच्ने बहानामा बास बस्न पुगेका थिए। सो क्रममा उनीहरुले बेहोस पार्ने ‘एटिभ्यान’ नामक लठ्याउने औषधिको प्रयोगले सुनारको परिवारमा आमा र श्रीमतीलाई बेहोस बनाई १५ तोला सुन र दुई सेट मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो। उनीहरुले झापा, इटहरी, लहान, वीरगञ्ज, हेटौँडा, सुनौली, बुटवल, कृष्णनगर, नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका स्थानमा बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ।

बयानका क्रममा उनीहरुले भारतको लखनउसम्म पनि नेपालीलाई लुटेको स्वीकारेको बताइएको छ। उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ।
डिसी नेपाल