१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौं–७ मा उपनिर्वाचन गराउनेबारे स्थायी कमिटीमा छलफल हुनुपर्छ: रावल

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७५, बुधबार ०६:३३

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा यतिबेला काठमाडौं जिल्लाको क्षेत्र नम्बर ७ मा उपनिर्वाचन गराउने प्रयासको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामवीर मानन्धरले पार्टीका अर्का नेता बामदेव गौतमका लागि आफू राजीनामा दिन तयार रहेको बताएपछि बहस खुला रुपमा सुरु भएको हो । नेकपाका नेता तथा कार्यकर्ताहरु सामाजिक सञ्जालमा समेत यो विषयमाथिको बहसमा उत्रिएका छन् ।

कतिपयले बामदेव गौतमलाई काठमाडौं–७ मा उपनिर्वाचन गराएर संसदमा लैजानु आवश्यक रहेको तर्क गरेका छन् भने धेरैले ‘व्यक्तिगत स्वार्थ’ का लागि उपनिर्वाचन आवश्यक नरहने तर्क गरिरहेका छन् ।

नेकपाका प्रभावशाली नेता भीमबहादुर रावलले आवेगमा यस्तो विषयमा निर्णय नलिन पार्टी नेतृत्वलाई सचेत गराएका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टी स्थायी कमिटीमा छलफल आवश्यक छ । राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालिन प्रभाव पार्ने विषयमा छलफलविना निहीत स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’