१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीलाई असफल बनाउन नेकपाका नेताहरुको मोर्चाबन्दी

नेपालब्रिटेन संवाददाता
२४ आश्विन २०७५, बुधबार ११:३१

काठमाडौं । आशाअनुरूप काम गर्न नसक्ने केपी ओली नेतृत्वको सरकारलाई कसरी सफल बनाउने भन्ने कुरामा भन्दा असफल सरकारलाई विस्थापित गर्ने उत्साह नेकपाका नेताहरूमा पलाएको छ । सरकारप्रति उदासीनता बढिरहेको यस स्थितिमा केपीलाई असफल सिद्ध गर्दै सरकारको नेतृत्व बदल्ने निष्कर्षमा नेकपाका नेताहरू पुष्पकमाल दाहाल र झलनाथ खनाललगायत पुगिसकेका छन् भने माधवकुमार नेपालको समेत साथ प्राप्त गर्ने प्रयास भइरहेको छ ।

केपीमाथि सरकार गठन भएको आठ महिना बितिसक्दा पनि कुनै ठोस काम गर्न नसकेको, केवल गफ गरेर समय गुजारेको, पार्टीका कुनै पनि नेताहरूसँग छलफल र परामर्श गर्ने नगरेको, न्यून क्षमताका सीमित व्यक्तिको इच्छा र इसारामा चल्ने गरेको तथा अहङ्कारी व्यवहार प्रस्तुत गर्ने गरेकोजस्ता आरोपहरू लागेको छ । यिनै आधारमा ओलीलाई थप अलोकप्रिय तुल्याउन पार्टीका नेताहरूले कसरत गरिरहेका छन् ।

एकातिर सहअध्यक्ष दाहाल ओलीलाई विस्थापित गर्ने गुप्त अभ्यासमा लागिसकेका छन् भने अर्कोतिर युवा पुस्ताका घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरू केपीविरुद्ध बलियो नेटवर्क बनाउन सक्रिय भएका छन् । भट्टराई र भुसालले सांसदहरूलाई केपीका विरुद्ध सङ्गठित गर्ने काम गरिरहेका छन् ।

मन्त्रिमण्डलमा सामेल गरिएका कुनै पनि माओवादी मन्त्रीहरू प्रधानमन्त्रीप्रति सकारात्मक बनेका छैनन् । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, गोकर्ण विष्ट र रवीन्द्र अधिकारी पनि केपीसँग असन्तुष्ट रहेको बुझिन्छ । केपीलाई विस्थापित गरेको अवस्थामा आफ्नो राजनीतिक भविष्य सुरक्षित रहने ग्यारेन्टी भएमा उल्लिखित मन्त्रीहरू प्रधानमन्त्रीलाई छोडेर अन्तै लाग्न तयार भएको बताइन्छ ।

नेकपाको सचिवालयका नौ सदस्यमध्ये अधिकांश केपीका विरुद्ध उभिने स्थितिमा छन् । माधव नेपालको साथ भएमा दाहाल सजिलै बहुमतमा पुग्ने देखिन्छ । दाहाललाई झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापाको साथ रहने निश्चित मानिएको छ । केपी ओलीको पक्षमा रहेको मानिने ईश्वर पोखरेल र विष्णु पौडेलले समेत ओलीलाई साथ दिनेमा शङ्का गरिन्छ । नारायणकाजी श्रेष्ठ तटस्थ भूमिकामा देखिएका छन् । माधव नेपालको साथ रहेमा दाहालको पक्षमा बहुमत पुग्ने र बहुमत पुगेमा अन्य नेताहरूको समेत साथ दाहाललाई हुने विश्वास दाहाल पक्षधरहरूले गरेका छन् ।

माधवकुमार नेपाललाई आफ्नो पक्षमा मिलाउन दाहालले संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाइदिने गरी गुप्त सम्झौता गर्ने योजना बनाएका छन् । प्रधानमन्त्री र दलको नेता बन्ने ग्यारेन्टी पाएपछि नेता नेपाल आफ्नो पक्षमा उभिने विश्वासमा दाहाल र उनका पक्षधरहरू रहेका छन् । ज्ञातव्य छ, दाहालको प्राथमिकता पार्टी अध्यक्ष हो र अध्यक्ष बनिसकेपछि मात्र सर्वशक्तिमान प्रधानमन्त्री बन्ने सपना उनले बुनेका छन् ।

अर्कोतिर नेपाली राजनीतिमा विशेष प्रभाव राख्ने भारत पनि यतिबेला केपीको बक्री भएको ठानिन्छ । प्रतिबद्धता जनाएर पनि गत महिना संयुक्त सैन्य अभ्यासमा सहभागिता नजनाएपछि क्रूद्ध बनेको भारत अहिलेसम्म शान्त बनेको महसुस गरिएको छैन । एक्लो केपीको कारण सैन्य अभ्यासमा नेपाली सेनाको सहभागिता नरहेको बुझाइ भारतको भएको बुझिन्छ । त्यसैले केपीको विस्थापनका निम्ति नेपालभित्र हुने प्रयासप्रति भारत पनि नकारात्मक बन्ने ठानिएको छैन ।

पहिले कङ्ग्रेस आई नेतृत्वको सरकार भारतमा रहँदा नेपालभित्रका हरेक सानातिना विषयमा समेत चासो राख्ने भारतले पछिल्लो समयमा आफ्नो नीति–व्यवहार परिवर्तन गरेको महसुस नेपालमा गरिएको छ । आन्तरिक मामिलामा चासो घटाएको भए पनि नेपालले संयुक्त सैन्य अभ्यासमा प्रतिबद्धता जनाएको तर सहभागिता नजनाएको विषयबाट चाहिँ भारत ज्यादै नै दुःखी भएको बुझिन्छ । त्यसैले केपी ओलीलाई विस्थापित गर्न दाहाललगायतबाट भएका प्रयासहरूमा भारत निरपेक्ष रहने विश्वास यहाँ गरिएको छैन । त्यस्तै पश्चिमा शक्तिहरू पनि ओलीसँग प्रसन्न नरहेको बताइएको खबर घटना र विचार साप्ताहिकले छापेको छ ।

सरकारमा सहभागी भएको सङ्घीय समाजवादी फोरम र सरकारलाई बाहिरैबाट समर्थन दिने राजपाले पनि केपी ओलीसँग निहुँ खोज्न थालिसकेका छन् । दाहालले कदम अघि बढाउनेबित्तिकै उनको सहयोगका निम्ति कुनै पनि प्रकारले अघि बढ्ने स्थितिमा मधेशकेन्द्रित दलहरू रहेका छन् । झलनाथ खनाल र वामदेव गौतमको साथ प्राप्त गरिसकेका दाहाल यतिबेला माधवकुमार नेपालको मन जित्न प्रयत्नशील छन् ।

केपीविरुद्ध नेपालको साथ मिल्ने भएमा संसदीय दलको नेताबाट उनलाई हटाउने सोचमा दाहाल रहेको बुझिएको छ । केपीविरुद्ध तीन तहको बलियो मोर्चाबन्दी बनाउने योजनाअनुरूप दाहाल क्रियाशील भएका छन् । केपीविरुद्ध पहिलो मोर्चाबन्दी नेकपाभित्र, दोस्रो मोर्चाबन्दी सत्तारुढ पक्षभित्र र तेस्रो मोर्चाबन्दी प्रमुख विपक्षी शक्तिलाई समेत समेटेर गर्ने रणनीतिक योजना भएकैले दुई साताअघि दाहालले प्रतिपक्षी नेता शेरबहादुर देउवासँग समेत भेटेर एक स्तरको ‘अन्डरस्ट्यान्डिङ’ बनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीलाई एक्ल्याउने, प्रहार गर्ने र विस्थापित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई निस्तेज बनाउन केपीले कसरी सक्ने हुन्– प्रतीक्षाको विषय बनेको छ ।