६ चैत्र २०८०, मंगलवार
Follow Us

अलिकति जोखिम होस् तर उद्यमी नै बन्ने तिर लाग्नु पर्छ: जीवा लामिछाने, पुर्वअध्यक्ष गैरआवासीय नेपाली संघ

नेपालब्रिटेन डट कम्
२४ आश्विन २०७५, बुधबार १४:२४

जीवा लामिछाने गैरआवासीय नेपाली संघ संघको स्थापनाकालदेखि नै लगातार रुपमा सक्रिय रहँदै आउनुभएको छ । नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीहरुले सामूहिक लगानीबाटै टेवा पुराउन सक्ने विश्वास लामिछानेको रहेको छ । संघको संरक्षक तथा पुर्वअध्यक्ष समेत रहनु भएका लामिछानेसंग नेपालमा हुन लागेको विज्ञ सम्मेलनको सम्वन्धमा गरिएको कुराकानी ।

० गैरआवासीय नेपाली संघलाई विज्ञ सम्मेलन गर्न आवश्यक प-यो ?

– राजनीतिक एजेन्डा सम्वोधन भइसकेकाले अब मुलुक आर्थिक विकासमा केन्द्रित हुनेछ । गैरआवासीय नेपाली समुदायको त्यसमा भूमिका रहनेछ भन्ने कुरामा मलाई सन्देह छैन । नेपालको भावी यात्रालाई सफल बनाउन हामीले संसारभरिबाट क्षमताअनुसारको साधनस्रोत जुटाएर, आफ्नो ज्ञान र सिप लगाएर ठूलो उत्साहका साथ हातेमालो गर्नुपर्छ । राष्ट्र निर्माणको यो अभियानमा योगदान गर्नका लागि विदेशमा रहेका प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संसाधनको बढिभन्दा बढी प्रयोग गर्ने उद्देश्यले यो सम्मेलन गर्न लागिएको हो । नेपालले हामीबाट यही भूमिकामा अझ व्यापक र विस्तार होस् भनेर अपेक्षा गरेको छ ।


० नेपाल सरकारले देशमा ट्रेन, ग्यास, पानी जहाज, १० औं हजार मेघावाट विजुलीलगायतका महत्वकांक्षी योजना अघि सारेको छ यी योजनामा एनआरएनले कसरी टेवा पु¥याउन सक्छन् ?

– पूर्वाधार निर्माण, विशेषगरी जलविद्युत उत्पादनमा गैरआवासीय नेपालीले लगानी गरेका छन् । त्यस क्षेत्रमा लगानी अझै बढ्न सक्छ । त्यसैगरी पर्यटन, कृषि आदि क्षेत्रमा पनि केही साथीहरुले लगानी गर्नुभएको छ । वर्तमान कार्यसमितिका साथीहरुले पूर्वाधार निर्माण र ठूला योजनामा लगानी गर्ने उद्देश्यले सरकारको समेत सहभागिता रहने गरी ‘सामुहिक लगानी कोष’ स्थापना गर्ने दिशातर्फ गृहकार्य सुरु गरिसकेको मैले खबर पाएको छु । सामुहिक सहभागिताका आधारमा सरकारले अघि सारेका योजनाहरुमा गैरआवासीय नेपालीहरुले अवश्य लगानी गर्ने छन् ।


० आर्थिक लागानी छाडेर एनआरएन बैद्धिक लगानीतिर लाग्न थालेको हो भन्न मिल्छ ?

– गैरआवासीय नेपालीको लगानीको कुरा गर्दा आर्थिक र बौद्धिक लगानी उत्तिकै महत्वपूर्ण छन् । आर्थिक लगानीको कुरा गर्दा देशको अर्थतन्त्रलाई कायापलट गर्ने गरी लगानी गर्न सक्ने हैसियत हाम्रो अझै बनिसकेको छैन । पहिलो पुस्ता भएर पनि नेपाली डायस्पोराले छोटो समयमा गरेको प्रगतिलाई कम आँक्न मिल्दैन । केही समययता व्यापार, व्यवसायमा उल्लेख्य प्रगति गर्ने नेपालीको संख्यामा व्यापक वृद्धि हुँदैछ । केही अग्रज नेपालीको सफलताको कथाले अरू नेपालीलाई पनि आफ्नो क्षमताले केही सुरुआत गर्नुपर्ने रहेछ भन्ने भावना जगाइदिएको छ । जोखिम लिनुको सट्टा जागिर खाएर ढुक्कको जीवन गुजार्ने मानसिकतालाई अलिकति जोखिम होस् तर उद्यमी नै बन्नुपर्छ भन्ने भावनाले विस्थापित गर्दैछ । तर गैरआवासीय नेपालीहरुले बौद्धिक क्षेत्रमा अहिले नै ठूलो योगदान गर्नसक्ने सम्भावना मैले देखेको छु । कतिपय बहुउद्देश्यीय कम्पनीका उच्च तहमा अहिले नेपालीलाई भेट्न सकिन्छ । त्यसैगरी विश्वका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान प्रतिष्ठानमा नेपाली समुदायको गर्विलो उपस्थिति देखिइसकेको छ ।

० नेपालमा हुदै गरेको राजनीतिक स्थायित्वपछि गैरआवासीय नेपालीहरुको भुमिका फेरिएको हो ?

– हाम्रो अभियानको मूलमन्त्र नै ‘नेपालीका लागि नेपाली’ भएकोले हाम्रो भूमिका संधै नेपालको समग्र उन्नतिमा योगदान पु¥याउने नै हो । हामीले त्यो मूल भावनालाई कहिल्यै कमजोर हुन दिनु हुन्न । उद्देश्य त्यही हो । त्यसलाई निर्वाह गर्ने बाटो फरक–फरक हुन सक्ला । देशमा अहिले राजनीतिक स्थिरता कायम रहेकोले हामीलाई यो जिम्मेवारी निर्वाह गर्ने राम्रो वातावरण बनेको मैले महसुस गरेको छु ।

० वर्तमान कार्य समितिबारे तपाईंका टिप्पणी ?

– यस विषयमा अहिले टिप्पणी नगरौं । पुरानो कार्यसमितिले सुरु गरेका प्रोजेक्टलाई वर्तमान कार्य समितिले समय मै सम्पन्न गर्नेछौं भनेर कबूल गरेको छ । त्यो समय–सीमासम्म उहाँहरुलाई काम गर्न दिउँ ।

० गैरआवासीय नेपाली समुदायलाई तपाईं केही भन्नु छ ?

– हामीले उठान गरेका धेरै मुद्दा सम्बोधन भएर आएका छन् । गैरआवासीय नेपाली समुदायलाई नेपाल सरकार र नेपालको हरेक वर्गले जिम्मेवारपूर्ण समुहको रुपमा लिएको छ । अब मातृभूमिका लागि केही गरेर देखाउने पालो हाम्रो हो । सबै साथीहरुले यो जिम्मेवारीबोध गरेर आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान गरौं ।
प्रस्तुती: चिरन शर्मा

(एनआरएन ग्लोवलको विषेशांकबाट सम्पादित अंश)