१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा नेपाली भाषा र संस्कृति सिक्दै बच्चाहरू

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७३, आईतवार १२:५६

लण्डनको वाटफर्डमा नेपाली भाषा तथा संस्कृति कक्षा सुरु भएको छ ।
वाटफर्डमा नेपाली समुदायको बस्ती बाक्लिँँदै गएपछि आफ्ना बालबच्चालाई नेपाली भाषा र संस्कृतिबारे ज्ञान दिने इच्छा धेरैमा थियो । अभिभावकहरूको नेपाली भाषा सिकाउने सपनालाई साकार पार्न जुटेका समुदायका सक्रिय अभियन्ताहरूले उक्त सपनालाई विपनामा बदलेका हुन् ।

वाटफर्ड नेपाली समाजले आयोजन गरेको उक्त भाषा कक्षा स्थानीय सामुदायिक केन्द्रमा हरेक आइतबार बिहान एक घण्टा सञ्चालन गर्ने व्यवस्था गरिएको संयोजक सुशील श्रेष्ठले बताए । सहभागिता बढ्दै गएको अवस्थामा अभिभावकहरूको रायसल्लाह लिई डेढ़ घण्टासम्म पुऱ्याउने सोच रहेको उनले बताए । पहिलो कक्षामा नेपालबाट मगाइएको पाठ्यपुस्तक नि:शुल्क बाँडिएको र हाललाई भाषा कक्षासमेत नि:शुल्क नै रहेको श्रेष्ठले बताए ।

सामुदायिक हल बुक गर्नेदेखि अभिभावकहरूलाई सूचित गरेर भाषाशिक्षाका लागि प्रेरित गर्ने भूमिका निभाएका मोहन थापा आफै पढाउन कसिएका थिए । पेशाले विशेषज्ञ चिकित्सक थापाले व्यस्तता बीच पनि नेपालीपन र भाषा दोस्रो पुस्तासम्म हस्तान्तरण होस् भनेर भाषाशिक्षामा जोड़ दिएर लागिपरेको बताए । बिस्तारै सबै अभिभावकमा चेतना र कक्षाप्रति अपनत्वको भावना विकास हुँदै गएपछि यो अभियान संस्थागत हुँदै जाने आशा उनमा छ । विभिन्न कानुनी चरण र प्रक्रिया पूरा गरेर औपचारिक कक्षाका रूपमा संचालन नभइंजेल सामुदायिक भेला र सिकाइका रूपमा यसलाई अघि बढ़ाइने थापाले बताए ।

संस्थाका अध्यक्ष मुकुन्द गुरुङ्ग, सचिब सञ्जय पन्त तथा सक्रिय अभियन्ताहरू कपिल रिमाल, सुदर्शन रुवाली, प्रतिष्ठा पराजुली, कृष्ण तिवारी, विजय गुरुङ्ग, पूर्णिमा महर्जनलगायतका धेरैले कक्षाको निरन्तरता र सफलताका निम्ति अनवरत लागिरहने बताए ।

आफ्ना बालबच्चालाई यसरी घरदैलोमैं नेपाली भाषा र संस्कृति सिक्ने अवसर जुराइदिएकोमा वाटफर्ड नेपाली समाजलाई अभिभावकहरूले धन्यवाद दिएका छन् । संख्यात्मक रूपमा वाटफर्डमा नेपाली समुदाय पातलो भए पनि सक्रियता र सामुदायिक मेलमिलाप उदाहरणीय रहेको धेरैको अनुभव छ ।