७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘एनआरएनएको कार्यकाल एक वर्ष थप्न कसरत’

नेपालब्रिटेन डट कम्
२५ आश्विन २०७५, बिहीबार ०७:४९

लन्डन । गैरआवासीय नेपाली संघको २ वर्षे कार्यकाल बढाएर ३ वर्षे बनाउने विषयले संघभित्र औपचारिक रुपमा प्रवेश पाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा बुधबार बसेको संघको केन्द्रीय समितिमा कार्यकाल १ वर्ष थप्ने विषयमा छलफल भएको थियो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अध्यक्ष भवन भट्टलगायत अधिकांश पदाधिकारीले कार्यकाल लम्बाएर थप एक वर्ष पदमा आसिन हुने लालच देखाएका थिए ।

गैरआवासीय नेपाली संघको ऐनले संघको निर्वाचन हरेक दुई दुई बर्षमा हुने भनि किटान गरेपछि अध्यक्ष भवन भट्टको कार्यसमितिले कानुन विपरित संघको कार्यकाल ३ वर्षे बनाउन लागेको हो । नेपाल सरकारको गैरआवासीय नेपालीसम्बन्धी ऐनको धारा ९ दफा १३ मा संघको निर्वाचन हरेर दुई वर्षमा हुनुपर्ने अनिवार्य व्यवस्था रहेको छ ।

संघको बैठकले विधान समितिका संयोजक डा. हेमराज शर्माद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावलाई औपाचारिक रुपमा पारित गरेको छ । तर, डा. शर्माको प्रस्तावमा संघको कार्यकाल २ वर्षे हुनपर्ने व्यवस्था यथावत राखिएको छ ।

बैठकमा उपस्थित एक पदाधिकारीले भने ‘बैठकमा उपस्थित पदाधिकारीलाई संघको भन्दा आफ्नो पदको चिन्ता छ । जसरी हुन्छ पदमा बसी राख्ने र अर्को कार्यकाल सुरक्षित गर्ने भन्ने मात्र उनीहरुको चिन्ता हो ।’ ‘दुई वर्षको लागि भनेर म्याण्डेट लिएको कार्यसमितिले आफ्नै कार्यकाल थप्न मिल्दैन् ।’

विधानमा आपतकालीन अवस्थामा मात्र ६ महिला कार्यकाल थप्न मिल्ने व्यवस्था रहेको छ । बैठकमा केन्द्रीय सदस्य रामशरण सिम्खडालगायतले गैरआवासीय नेपाली संघको ऐन विपरित १ वर्ष कार्यकाल थप्दा कानुनी प्रश्न उठ्न सक्नेप्रति बैठकलाई सचेत गराएका थिए ।

बैठकमा अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव जानकी गुरुङ, कोषाध्यक्ष हिक्मत थापा, प्रवक्ता भुषण घिमिरेलगायतको उपस्थिति थियो । संघको विधानसभा १२ अक्टोवर अर्थात् भोली शुक्रबार मा काठमाडौंमा सुरु हुदैछ ।

विधानसभाले अनुमोदन गरेको प्रस्तावलाई संघको विषेश अधिवेशनले पारित गरी नेपाल सरकारको स्वीकृति दिएपछि मात्र कार्यान्वयनमा आउने प्रावधान छ ।