८ बैशाख २०८१, शनिबार
Follow Us

सेनामाथिको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य हुँदैन : प्रधानसेनापति थापा

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०७५, बिहीबार १२:५४

काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामाथिको हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । प्रधानसेनापति भएपछि पहिलो पटक बिहिबार पत्रकार सम्मेलन गर्दै थापाले लोकतान्त्रिकरणको नाममा सेनामाथि हुने कुनै पनि प्रकारका माइक्रो म्यानेजमेन्ट स्वीकार्य नहुने बताएका हुन् ।

उनले सानो र चुस्त बनाउने नाममा नेपाली सेनाको संरचनालाई परिवर्तन गर्न नहुने बताए । नेपाली सेनाको आफ्नै इतिहास र गरिमा रहेको भन्दै प्रधानसेनापति थापाले संविधान बमोजिम सरकारले दिएका निर्देशन पालना गर्न नेपाली सेना सदैव तयार रहेको बताए ।

प्रधानसेनापति थापाले केही समूहले विखण्डनका कुरा गरिरहेको भएपनि त्यस्ता गतिविधिलाई निस्तेज पार्न सरकारले सेनालाई कुनै अधिकार नदिएको बताए । उनले सेनाभित्र हुने गरेका अनियमितता र भष्ट्रचार हटाउन समेत लागि गरेको दाबी गरे ।

सेनाले हस्पिटल, पेट्रोल पम्प लगायतका क्षेत्र सञ्चालन गरेर व्यापार गर्न नखोजेको भन्दै यस्ता क्षेत्र नाफामुखी नभएर नेपाली सेनामा कार्यरत कर्मचारीको कल्याणकारीको लागि मात्र भएको प्रधानसेनापतिथापाको भनाई थियो ।