८ बैशाख २०८१, शनिबार
Follow Us

करोड ठगेर दम्पती फरार

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०७५, शुक्रबार ०५:२१

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ का एक दम्पती लाखौँ रुपैयाँ ठगेर फरार भएको छ । दम्पती प्रेम सापकोटा र भगवती सापकोटाले रु एक करोड ६७ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध कावासोती नगरपालिकाको न्यायिक समितिमा उजुरी परेको छ ।

छिमेकी तथा आफन्तसहित ३२ जनाबाट विभिन्न बहाना बनाएर लाखौँ रुपैयाँ सापटी लिई सापकोटा दम्पती सम्पर्कबिहीन भएका छन् । कावासोती नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक प्रेमशङ्कर मर्दनियाले सो विषयबारे छलफल भइरहेको बताउनुभयो । सापकोटा दम्पतीले विभिन्न पसलबाट सामान खरिद गरेर रकम तिरेका छैनन् । अधिकांशले कागज नगरी सापकोटा दम्पतीलाई रकम दिएका छन् । सबैभन्दा बढी कावासोती–८ का सुनिता तिमिल्सिनाले उनीहरुलाई रु ३० लाख दिनुभएको छ ।

“सापकोटा दम्पतीले छोरालाई विदेश पठाउन भनी दुई÷चार दिनमै रकम फिर्ता गर्ने गरी सापटीस्वरुप रकम मागेका हुन्,” पडित तिमिल्सिनाले भन्नुभयो । केही समय अघि घर बिक्री गर्नुभएका उहाँले कुनै प्रमाण नराखी रकम दिनुभएको छ । यस्तै स्थानीयवासी झवकला तिवारीले सापकोटा दम्पतीलाई रु २५ लाख दिनुभएको छ । यस्तै अन्यको रु ५० हजारदेखि रु १० लाखसम्म रकम लिएर सापकोटा सम्पती फरार भएका छन् ।

सापकोटा दम्पतीले छिमेकी र आफन्तबाट सहकारीको ऋण तिर्न, छोरा विदेश पठाउन, छोराछोरीको पढाइ खर्च तिर्न, उपचार गर्ने बहानामा रकम सापट माग्ने गरेका थिए । “छरछिमेकमा सरसापटी चलाउनु पर्छ भन्ने सोचेर कागज नगरी पैसा दियौँ,” पीडित सुना चापागार्इंले भन्नुभयो । उहाँले सापकोटा दम्पतीलाई रु ३० लाख दिएको बताउनुभयो । सापकोटा दम्पतीले कावासोतीको घर बिक्री गरी गत जेठदेखि फरार छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएको खण्डमा जाहेरी लिन नमिल्ने व्यवस्था अनुसार सापकोटा दम्पती विरुद्ध जाहेरी नलिएको बताउनुभयो ।

सहयोगको याचना

आर्थिक अभावका कारण उपचार गराउन नसकेका पूर्वी नवलपरासी बिनयीत्रिबेणी–४ शीतल टाँडीका १४ वर्षीय सागर आलेको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।

विगत ६ महीनादेखि बिरामी परी थला परेका आलेको आर्थिक अभावका कारण उपचार हुन नसक्दा उहाँको परिवारले सहयोगको अपिल गरेका हो । कक्षा ८ मा अध्ययनरत आलेको कम्मरभन्दा मुनिको भाग चल्दैन । विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उहाँलाई निको हुन नसकेको आलेका बुबा डोलबहादुरले बताउनुभयो । आलेको कावासोतीस्थित इन्टिग्रेटेड अस्पतालमा उपचार भइरहेको छ । छोराको उपचारमा रु तीन लाख खर्च भइसकेको डोलबहादुरले बताउनुभयो ।

आलेको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको उपचारमा करीब रु १५ लाख खर्च लाग्ने छ । आले खेल्ने क्रममा खुट्टा मर्केको थियो । केही समयपछि मर्केको खुट्टा नचलेको र सँगै अर्को खुट्टा पनि चल्न छाडेपछि कम्मरमुनिको भाग नै चल्न छाडेको उहाँका बुबा डोलबहादुर बताउनुहुन्छ ।