१५ बैशाख २०८१, शनिबार
Follow Us

किन ब्याक भए वामदेव ?

नेपालब्रिटेन संवाददाता
२६ आश्विन २०७५, शुक्रबार ०५:३०

काठमाडौं । काठमाडौं ७ बाट चुनाव लड्ने भनी चर्चामा आउनु भएका नेता वामदेव गौतम पछि हट्नु भएको छ । पार्टी सांसदलाई राजीनामा गराएर उपचुनाव लड्ने योजनाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएपछि गौतम आफ्नो निर्णयबाट पछि हट्नु भएको हो ।

गौतमलाई सांसद बनाउन भन्दै काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पद छाड्न तयार रहेको पत्र सचिवालयमा बुझाउनु भएको थियो । लगतै सांसद मानन्धरले सार्वजनिक रुपमै राजीनामा दिने घोषणा गर्नु भयो ।

तर, परामर्श नै नगरी राजीनामा दिने रामवीरको पत्र सचिवालयमा प्रस्तुत भएपछि नेताहरु आश्चर्यमा पर्नु भयो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका बहुसंख्यक नेता गौतमलाई चुनाव लडाउने पक्षमा देखिनु भएन ।

चौतर्फी आलोचनापछि पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले अस्ति साँझ सचिवालयका नेताहरुसँग परामर्श गर्नुभयो । उहाँले प्रधानमन्त्री एवं अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग छुट्टाछुट्टै सम्वाद गर्नु भयो ।

नेतृत्वबाट सकारात्मक प्रतिक्रिया नपाएपछि गौतम चुनाव नलड्ने निर्णयमा पुग्नु भएको छ । बर्दिया १ मा चुनाव हारेका गौतम त्यसपछि लगातार संसदमा आउने प्रयासमा हुनुुहन्थ्यो । सुरुमा उहाँले डोल्पाका धनबहादुर बुढालाई राजीनामा दिन सहमत पनि गराउनु भएको थियो । तर, बुढा पछि हटेपछि गौतमले दैलेख र बाँकेतिर आँखा लगाउनु भयो ।

सबैतिर सकारात्मक वातावरण नबनेपछि काठमाडौं ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा दिन सहमत गराउनु भयो । तर, यो प्रयास पनि असफल भएको छ ।