१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएन सहयोगको अपरिहार्य’

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७५, शुक्रबार १८:५०

काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले गैरआवासीय नेपाली, निजी क्षेत्र र सरकार मिलेर देश समृद्ध बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा शुक्रवारदेखि शुरु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) विज्ञहरुको पहिलो विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपनालाई पुरा गर्न एनआरएनए र निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।

देशमा राजनीतिक स्थिरता छाएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा लगानिको पर्याप्त वातावरण बनिसकेकाले नेपालमा लगानी गर्न सम्पूर्ण क्षेत्रलाई आह्वान समेत गरे। ‘अहिलेको समय विकासको बारे बहस गर्दै बस्ने समय होइन, न त यो विकासकालागि अरुको भर पर्ने समय हो’ प्रधानमन्त्री ओलीले भने ‘पहिलेका गल्तिहरुमा एकअर्कालाई दोषारोपण गरेर नबसौं, देशमा राजनीतिक स्थिरता छाइसकेको छ, हामीले जती सक्दो चाँडो राष्ट्रलाई समृद्ध बनाउन तर्फ लाग्नु पर्छ।’ विकासको गतिमा मुलुक अगाडी बढेको भन्दै प्रधानमन्त्री ओलीले भोकमरी, गरिबी र पछौटेपनलाई पूर्ण रुपमा हटाईने बताए। नेपालको संविधानले सम्पूर्ण पक्षलाई समान न्याय र अधिकार प्रत्यायोजन गरेको भन्दै प्रधानमन्त्री ओलीले आफुहरुको संविधान विश्वकै उत्कृष्ट रहेको बताए।

प्रथम अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन उदघाटन कार्यक्रम?दच रश्रकाठमाडौँमा शुक्रबार आयोजित गैर आवासीय नेपालीहरुको प्रथम अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको उदघाटन कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अतिथिहरु । तस्बिरः प्रदीपराज वन्त, रासस

एनआरएनले नेपालको विकासका लागि विविध क्षेत्रमा गरेको लगानिको प्रशंसा गर्दै उनले भुकम्पपछिको पुनर्निर्माणमा एनआरएनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे। प्रधानमन्त्री ओलीले एनआरएनले सय भन्दा बढी मुलुकमा फैलिएर बसेका नेपालीलाई एकसुत्रमा बाधेको बताउँदै नेपाली संस्कृतिलाई विश्वभर फैलाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा विज्ञ सम्मेलन आयोजक समितिको संयोजक डा. हेमराज शर्माले सम्मेलनको बारेमा जानकारी गराए । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको शर्माले जानकारी दिए।

वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरूको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) ले बताएकाे छ।