१३ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डन दूतावासमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२६ आश्विन २०७५, शुक्रबार २०:४५

लण्डन । नेपाली दूतावास लण्डनले शुक्रवार साँझ नेपाली दूतावास भवनको प्रांगणमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठपर्व तथा नेपाल संवतको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको हो ।

शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जहाँ बसे पनि आफ्नो संस्कृति पहिचानलाई कायम राख्दै अगाडि बढ्नु पर्ने बताए । उनले नेपालमा सांस्कृतिक, जातीय, भाषिक, भौगोलिक विविधता रहेको बताउँदै यी विविधताको बीचमा एकता नेपालमा रहेको बताए । उनले नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनको परिणाम संघीय संविधान भएको बताए । यादवले नयाँ सोचका साथ नयाँ यात्रा शुरु भएको बताउँदै अन्य मुलुकको प्रयोग हेरेर अगाडि बढ्नु पर्ने बेला आएको बताए ।

त्यस्तै कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले नेपाल विभिन्न राजनैतिक व्यवस्थापनको लागि लामो समयसम्म बेथित भएको स्मरण गर्दै अब राजनीतिक व्यवस्थापन भइसकेको बताए । उनले राजनैतिक व्यवस्थापनसँगै आर्थिक विकास गरेर जनतालाई त्यसको अनुभूति दिन नसके प्राप्त राजनीतिक व्यवस्थापनसमेत कमजोर हुने बताए । उनले नेपाली जनताको आकांक्षाको लामो सूची रहेको बताउँदै आर्थिक विकासको लागि केही समय लाग्न सक्छ । उनले ६ महिनामा सरकारले काम गर्न सकेन भन्ने गुनासो स्वभाविक भएको भन्दै अब जनअपेक्षाअनुरुप अगाडि बढ्ने बेला आएको बताए ।

वेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले वेलायतमा नेपाल छ भन्ने अनुभूति दिने गरी नेपाली समुदायलाई दूतावास भवनमा निम्तो दिएर शुभकामना आदनप्रदान गर्ने अवसर दिएकोमा दूतावास प्रति आभार व्यक्त गरे ।

सर्वोच्च अदालतका न्यायधीश आनन्द मोहन भट्टराईले शुभकामना मन्तव्य दिँदै नेपालको संविधान समावेशी भए पनि भाषागत कमजोरी रहेको बताए । उनले नेपालमा सात वटा संविधान बनिसक्दा पछि मुलुकी ऐन संसोधन हुन सकेको थिएन्, अहिले सबै पक्षको सहयोगबाट विस्तृत कानूनी संरचना बनाउन सफल भएको जनाए ।

कार्यक्रम उपस्थित अतिथिहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले चाडपर्वले नेपाली भएर बाँच्न र नेपाली भएर हाँस्न, अँध्यारोबाट उज्यालो, विविधा बीचको एकता कायम गर्ने विचार ब्यक्त गरे ।

कार्यक्रममा प्रोफेसर सूर्य सुवेदी, गायिका मिरा राणा, म्युजिक नेपालका प्रमुख सन्तोष शर्मा, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी लगायतको उपस्थिति थियो । सोही कार्यक्रममा सगरमाथा आरोही निर्मल पुर्जालाई सम्मान गरिएको थियो भने सयपत्री सांस्कृतिक परिवारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

कार्यक्रममा गायिका मिरा राणाले विभिन्न गीत प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी थिईन् । नेपाली दूतावास लण्डनले हरेक वर्ष नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा चाडपर्व मनाउँदै आएको छ ।

फोटो : एभ्रेष्ट गौतम