१६ चैत्र २०८०, शुक्रबार
Follow Us

थप १६ जनालाई सहिद घोषणा गर्न माग

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७३, आईतवार १५:०७

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेस आन्दोलनका क्रममा मारिएका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मोर्चाका नेताहरुले आज उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भेटी मोर्चाका तर्फबाट सहिद घोषणा हुन बाँकी सहिद सूची, जीवनपर्यन्त भरणपोषणका लागि गम्भीर घाइतेको नामावली तथा विभिन्न अस्पतालमा उपचारको खर्च विवरणसमेत बुझाएको छ ।

मोर्चाले यसअघि ५२ जनाको सहित सूची सरकारलाई बुझाएको थियो । मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनिष सुमनले सहिद घोषणा हुन बाँकी १६ र ३२ जना गम्भीर प्रकृतिका घाइतेको सूची गृहमन्त्रीलाई बुझाइएको राससलाई जानकारी दिनुभयो ।

मोर्चाको ज्ञापनपत्र ग्रहण गर्दै गृहमन्त्री निधिले मोर्चाको मागका सम्बन्धमा आवश्यक प्रक्रिया पु¥याई जतिसक्दो चाँडो मन्त्रिपरिषद्ले सम्बोधन गर्ने बताउनुभएको महासचिव सुमनले उल्लेख गर्नुभयो ।