१३ बैशाख २०८१, बिहीबार
Follow Us

विश्व विज्ञ सम्मेलन पहिलो दिन २० वटा कार्यपत्र प्रस्तुत

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७५, शनिबार २०:४४

गैरआवासीय नेपाली संघको आयोजना र नेपाल सरकार सहआयोजक रहेको विश्व विज्ञ सम्मेलनको आज पहिलो दिन ६ वटा सत्र सम्पन्न भएको छ । सम्मेलनमा विश्वभरीका विज्ञहरुको सहभागिता छ । सम्मेलनमा करिव चार सयको हाराहारीमा विज्ञहरुको सहभागिता रहेको विज्ञ सम्मेलन संयोजक हेमराज शर्माले जानकारी दिनुभयो । एनआरएन विज्ञ सम्मेलन संयोजक शर्माका अनुसार सम्मेलनको पहिलो सत्रमा ६ वटा सत्र सम्पन्न भएको हो भने ६ वटा सत्रमा २० वटा कार्यपत्र प्रस्तुत गरिएको हो ।

एनआरएन आइसिसी उपाध्यक्ष एवं विज्ञ सम्मेलनकै अर्का संयोजक कुमार पन्तका अनुसार पहिलो सत्रमा नेपालको विज्ञान तथा प्रविधि सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सत्रमा दुई जना विदेशीसहित जर्मनीको तर्फबाट गैरआवासीय नेपालीले कार्यपत्र प्रस्तुत गर्नुभयो ।

दोस्रो सत्रमा नेपाल सरकारको विकास गर्ने अवधारण विषयमा कार्यक्रम सम्पन्न भएको थियो । दोस्रो सत्रमा बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष सोनि बाग्ले, अन्वेषक महाविर पुनलगायतले धारणा राख्नुभएको थियो भने तेस्रो सत्रमा प्रविधि हस्तान्तरणसम्बन्धमा कार्यपत्र प्रस्ततु गरिएको थियो । सो सत्रमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलको सहभागिता थियो ।

चौथो सत्रमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, अक्सोफोक्ट युनिभर्सिटीका कृष्ण अधिकारीले डाइस्पोराको नेपालको विकासमा सहयोग गर्न के कस्ता काम गर्नुपर्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सम्मेलन भोली पनि चल्नेछ ।

सम्मेलनमा कृषि उत्पादन र ऊर्जामा निर्भरता, सुरक्षित खाद्य पदार्थ, वातारणीय प्रदूषण न्यूनीकरण, व्यवस्थित सहरको विकास, पूर्वाधार विकास, जलविद्युत्, व्यावसायिक शिक्षा, स्वास्थ्य शिक्षालगायत विषयमा विज्ञहरूले छलफल गर्नेछन् । सम्मेलनमा १ सय ६० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन् । छलफलको निष्कर्ष श्वेतपत्रका रूपमा सरकारलाई बुझाउने एनआरएनएले जनाएको छ ।